आँखालाई माया गरौँ भन्ने मुल नारासहित विश्व दृष्टि दिवस मनाइने

काठमाडौं । नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ गरेको छ । बुधवार काठमाडौंका एक कार्यक्रम गर्दै संघले विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ भएको घोषणा गरेको हो । यस पटकको विश्व दृष्टि दिवस आँखालाई माया गरौँ भन्ने मुल नाराका साथ मनाउन लागिएको छ ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले संघको अबको योजना भनेको स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर वडा स्तरसम्मै आँखाको सेवालाई प्रभावकारी बनाउने बताएका छन् । उनले वडास्तरमा र दुर्गम जिल्लाहरुका नागरिक, महिला र सीमान्तकृत वर्गहरुलाई आँखाको सेवा पुर्याउनका लागि योजना बनाएर अघि बढ्ने उनले बताए । उनले संघले हरेक पालिकामा आँखा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य संघले राखेको भन्दै हरेक जिल्लामा स्थायी रुपमै आँखा उपचार केन्द्र स्थापना गरेको बताए ।
विश्व दृष्टि दिवस सन् १९९८ देखि विश्वभर मनाइँदै आइएको छ । संसारमा विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबरको दोस्रो बिहीवार मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २२० करोड मानिसहरुमा दृष्टिदोषको समस्या रहेको छ भने ३ करोड ९० लाख मानिसहरुमा अन्धोपनको समस्या रहेको छ ।
त्यस्तै १०० करोड जनता अझै पनि सेवाको पहुँच बाहिर रहेका छन् । त्यस्तै दृष्टिबिहीनहरुमध्ये ६५ प्रतिशत मानिस ५० वर्ष उमेर समूहभन्दा माथिका रहेका छन् । नेपालमा पनि शिक्षा, चेतनाको कमी तथा सेवाको पहुँचका कारण दृष्टिहीनताको स्थिती अझै प्रमुख स्वास्थ्य समस्या रहँदै आएको छ ।

प्रतिक्रिया