प्रदेश २ का मुख्यमन्त्री राउत विश्वासको मत पाउन सफल

नेपालखोज २०७८ असोज २० गते २०:१७

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न सफल भएका छन् । प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका छन् भने सो प्रस्तावको विपक्षमा २३ मत परेको छ ।

राउत नेतृत्वको सरकारलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेका कारण उनले विश्वासको मत पाएका हुन् । राउतले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए । संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ ।

गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो ।

प्रतिक्रिया