आइतबार, वैशाख १६, २०८१

बलिउडका आगामी चलचित्र

नेपालखोज २०७८ असोज २१ गते ८:००

मुम्बई। भारतको महाराष्ट्रमा यही अक्टोबर २२ देखि सबै थिएटर खुल्ने भएका छन् । यस क्रममा कैंयन् ठूला बजेटका फिल्मले आफ्नो प्रदर्शन मिति घोषणा गरेका छन् । बलिउडका कैयन् चलचित्र कोरोना भाइरसको महामारीका कारण प्रदर्शनमा आउन नसकी त्यसै थन्किएका छन् ।

थिएटरहरु खुल्ने भएपछि बलिउडले ठूलो राहत अनुभव गरेको बताइएको छ । थिएटर पुन: चल्ने हुने घोषणासँगै बलिउडमा खुसीको लहर देखिएको छ । सन्जयलीला भन्साली, रोहित सेट्टीसहित अन्य फिल्ममेकरले अहिले धमाधम आफ्नो चलचित्रको प्रदर्शन मिति घोषणा गरिरहेका छन् ।

कोरोना कालमा लामो समयसम्म चलचित्रको छायांकन नभएको, सिनेमाघरहरू बन्द रहेको तथा तयार चलचित्रहरु प्रदर्शनमा आउन नसकेका कारण बलिउडले हजारौं करोड रुपैयाँ नोक्सान झेल्नुपर्‍यो। महाराष्ट्रमा थिएटर खुल्ने भए लगत्तै धमाधम ठूला बजेटका चलचित्रको प्रदर्शन मिति घोषणा भइरहेको छ। घोषित सूचीमा अक्षय कुमारको सूर्यवंशी, कार्तिक आर्यनको भुल भुलैया-२ तथा साहिद कपुरको जर्सी सबैभन्दा अगाडि छन् । रोहित सेट्टीद्वारा निर्देशित अक्षय कुमार र कैटरिना कैफको सूर्यवंशी २२ अक्टोबरमा रिलिज हुँदै छ ।

रणवीर सिंह स्टारर चलचित्र ‘८३’ आउँदो क्रिसमसको अवसरमा रिलिज हुनेछ । कबिर खानद्वारा निर्देशित फिल्म ‘८३’ भारतीय क्रिकेट टिमले विश्वकप क्रिकेट जितेको कथामा आधारित छ । यश र सन्जय दत्तको चलचित्र ‘केजीएफ-२’ १४ अप्रिल २०२२ मा रिलिज हुनेछ । अजय देवगनको मैदान-३ जुनमा रिलिज गरिनेछ । अर्जुन कपुर, तारा सुतारिया, जोन अब्राहम तथा दिशा पटानी स्टारर चलचित्र एक भिलेन रिटर्न्स इदमा अर्थात् ८ जुलाई, २०२२ मा रिलिज हुँदै छ ।

थप केही रिलिज डेट

जोन अब्राहमको ‘सत्यमेव जयते-२’ नोमेम्बर २६ मा रिलिज हुँदै छ । सुनील सेट्टीका छोरा अहान सेट्टीको डेब्यु चलचित्र ‘तडप-३’ डिसेम्बर २०२१ मा रिलिज हुँदै छ । कार्तिक आर्यनको ‘भूल भुलैया-२’ नोमेम्बर १९ मा प्रदर्शनमा आउनेछ । अजय देवगन, रकुलप्रित र अमिताभ बच्चन स्टारर चलचित्र ‘मे डे’ २९ अप्रिल, २०२२ मा रिलिज हुनेछ । साहिद कपूर र मृणाल ठाकुर स्टारर ‘जर्सी’को रिलिज डेट ३१ डिसेम्बर २०२१ हो । रणवीर कपुर, वाणी कपुर र सन्जय दत्तले फिल्म ‘शमशेरा’मा एकसाथ काम गरेका छन् । यो फिल्म १८ मार्च, २०२२ मा प्रदर्शनमा आउनेछ ।

ठूलो पर्दामा आउँदै छन् यी ठूला कलाकार पनि

आयुष्मान खुराना र वाणी कपूरको ‘चण्डीगढ करे आशिकी’ १० डिसेम्बरदेखि हेर्न पाइनेछ । आलिया भट्ट तथा अजय देवगन स्टारर ‘गंगुबाई काठियावडी’ आउँदो ६ जनवरीमा रिलिज हुनेछ । अक्षय कुमार र मानुषी छिल्लरको फिल्म पृथ्वीराजले २१ जनवरी २०२२ मा सिनेमाघरको मुख देख्नेछ । आमिर खान र करिना कपुरको ‘लाल सिंह चड्डा’ २०२२ को भ्यालेन्टान-डे अर्थात् फेब्रुअरी १४ मा रिलिज हुनेछ ।

प्राप्त जानकारीअनुसार, अक्षय कुमार स्टारर फिल्म ‘बच्चन पाण्डे’ ४ मार्च २०२२ मा रिलिज हुनेछ । टाइगर श्राफ तथा तारा सुतारियाको ‘हिरोपन्थी- २’ आउने अंग्रेजी सालको अप्रिल २९ देखि हलमा लाग्दै छ । कार्तिक आर्यन स्टारर ‘भुल भुलैया-२’ २५ मार्च २०२२ मा रिलिज हुँदै छ । चलचित्र पृथ्वीराजले २१ जनवरी २०२२ लाई आफ्नो रिलिज डेट बनाएकाो छ भने, आनन्द एल रायद्वारा निर्देशित फिल्म रक्षा बन्धन ११ अगस्त २०२२ मा हलहरुसम्म पुग्दै छ ।

प्रतिक्रिया