शनिबार, वैशाख १५, २०८१

सह-महामन्त्रीको नेतृत्वमा कांग्रेस टोली भारत प्रस्थान

नेपालखोज २०७८ असोज २१ गते १२:०६


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।

भारतीय जनता पार्टीको निमन्त्रणामा डा. महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् ।

५ दिनको भ्रमणका क्रममा उनीहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा. महतको आमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए।

त्यस भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सहमहामन्त्री डा. महतसहित नेपाली कांग्रेस र अन्य राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए ।

त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा डा महत नेतृत्वको टोली आज भारत लागेको हो । दिल्ली प्रस्थान गर्नुअघि डा महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताए।

यस्ता भ्रमणका क्रममा आपसी समझ्दारीमा वृद्धि हुनुका साथै दुई दल र त्यसमार्फत् दुवै देशका सरकारसमक्ष आफ्ना सरोकारका कुरा राख्न र आफ्ना विषयवस्तु बुझाउन पनि मद्दत पुग्ने उनले बताए।

नेपाली कांग्रेसको यो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीको नेतृत्वमार्फत् नेपालको चासो, हित र सरोकारका विषय भारत सरकारसमक्ष पुर्‍याउन पनि मद्दत पुग्ने उनले बताए। – रासस

प्रतिक्रिया