सात वाणिज्य बैंकको लाभांश घोषणा, कुन बैंकको कति ?

काठमाडौं । हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् । बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ । लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ । बैंकले शेयरधनीलाई कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ ।
बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीको हातमा लाभांश पर्नेछ । बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि सेयरधनीले भने दसैँ पछाडी मात्र लाभांश पाउने भएका छन् । विगतका वर्षमा केही वाणिज्य बैंकले दसैँअघि नै वार्षिक साधारणसभा बोलाएर सेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने सेयरधनीले दसैँ अगाडि लाभांश नपाउने भएका हुन् ।
कुन बैंकको कति ?
गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस सेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
त्यस्तै, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १७.८९प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आवको नाफाबाट माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो बैंकले कात्तिक २६ गतेका लागि साधारणसभा पनि बोलाइसकेको छ। त्यस्तैगरी, कुमारी बैंकले सेयरधनीलाई ८ दशमलव ६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
दसैँमा लाभांश नपाउने
बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि सेयरधनीले भने दसैँ पछाडी मात्र लाभांश पाउने भएका छन् । विगतका वर्षमा केही वाणिज्य बैंकहरुले दसैँ अघि नै वार्षिक साधारणसभा बोलाएर सेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने सेयरधनीले दसैँ अगाडि लाभांश नपाउने भएका हुन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार यस वर्ष बैंकहरुले ढिलो गरेर वित्तीय विवरण सार्वजनिक गरेकोले अन्य प्रक्रियामा समेत ढिलाइ हुँदा लाभांश वितरणमा ढिलाइ भएको हो ।
“यसवर्ष वित्तीय विवरण सार्वजनिकमा ढिलाइ भयो”, उनले भने, “नेपाल राष्ट्र बैंकले भदौसम्मको आम्दानीलाई जोड्न पाउने व्यवस्था पनि गर्यो । यी व्यवस्थाले बैंकहरुले समय पनि पाए, त्यसैले पनि यसवर्ष दसैँ आगाडि सेयरधनीलाई लाभांश दिन सकिएन ।” दिपावली आसपासमा सेयरधनीले लाभांश पाउन सक्ने उनको भनाइ छ । हाल केही बैंकले साधारणसभा पनि बोलाइसकेका छन् । साधारणसभाले लाभांश पारित गरेपछि मात्र बैंकका सेयरधनीले लाभांश पाउनेछन् ।
विकास बैंकमा कामना पहिलो
सात वाणिज्य बैंकले लाभांश घोषणा गरे तापनि विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंकमा कामना सेवा विकास बैंक भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांशसमेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित १९.४७ प्रतिशत लाभांश गत चार वर्षयताकै उच्च हो ।
प्रतिक्रिया