दुर्व्यसनीलाई सुधार्ने तालिबानी तरिका !
काबुल । अफगानिस्तानमा शासन गरिरहेका तालिबानीहरुले अफगान दुर्व्यसनीहरुको लत छुटाउन कारबाही सुरु गरेका छन् । यसका लागि उनीहरूले बलसमेत प्रयोग गरिरहेका छन् । अफगान लडाकुहरूले काबुलको गुजरगाह इलाकाको एक पुलको तल रहेको अखडामा छापा मारेका थिए । उनीहरुले त्यहाँ भएका दुर्व्यसनीहरुलाई बाहिर निस्कन आदेश दिएका थिए । केहीले आदेश पालन गरे भने केहीलाई लडाकुहरुले जबरजस्ती बाहिर ल्याए ।
त्यहाँ कम्तीमा १५० जना दुर्व्यसनी गिरफ्तार भएको बताइएको छ । उनीहरुलाई त्यहाँबाट जिल्ला प्रहरी कार्यालय लगिएको थियो । उनीहरुबाट मादक पदार्थ, पर्स, चक्कु आदि सामान बरामद गरिएको छ । त्यसपछि उनीहरुलाई अबिसिना मेडिकल हस्पिटल फर ड्रग ट्रिटमेन्ट लगिएको थियो । उक्त अस्पतालका डा. वहिदुल्ला कोसानका अनुसार अब ४५ दिनसम्म ती दुर्व्यसनीहरुको उपचार चल्नेछ । उनी भन्छन्, ‘अस्पतालमा हेरोइनको नशाबाट मुक्ति दिलाउने औषधि भने कमी छ ।’
लडाकुबाट प्रहरी बनेका तालिबानीहरुले काबुलको एउटा इलाकाबाट मादक पदार्थ, हिरोइन तथा मेथामफेटामाइन्स आदिको दुर्व्यसनको सिकार सडकमा पुगेका व्यक्तिलाई हिरासतमा लिएको र उनीहरुलाई निर्मम ढंगले कुटेको बताइएको छ । ती दुर्व्यसनीहरुलाई जबरजस्ती उपचार केन्द्र पुर्याइएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।
एपीका अनुसार डाक्टरहरुले ती दुर्व्यसनीहरुमध्ये केही मानसिक बिरामी भएको बताएका छन् । तिनीहरुलाई हात बाँधेर भित्ताको आडमा उभ्याएर नशा छोड्न भनिएको छ । नमान्नेहरुलाई कुटपिट गरिएको छ । उपचार केन्द्रमा कार्यरत डा. फजलरब्बी मयार भन्छन्, ‘यस्ता मानिसको उपचार गर्ने एउटै मात्र उपाय उनीहरुमाथि बल प्रयोग गर्नु हो । डा. मयारका अनुसार कैयन् अफगानी हेरोइन तथा मेथामफेटामाइन्सको लतमा छन् ।’
दुर्व्यसनीको अखडामा छापा मार्न गएका वरिष्ठ तालिबानी अधिकारी कारी गफुर भन्छन्, ‘यो त सुरुवात मात्र हो । अब हामी अफिम किसानहरुसँग पनि पुग्छौं र उनीहरुलाई सरिया कानुनअनुसार सजाय दिनेछौं ।’
१५ अगस्तमा सत्ता कब्जा गरेपछि तालिबानी स्वास्थ्य मन्त्रालयले आफूअन्तर्गतका स्वास्थ्य केन्द्रहरुका नाममा एक आदेश जारी गर्दै सरकारको मनसाय नशाको लतको समस्यालाई कडाइसाथ नियन्त्रण गर्ने रहेको बताएको थियो । इस्लाम धर्ममा मादक पदार्थको प्रयोग बर्जित छ ।
यता पूरा अफगानिस्तानको अर्थव्यवस्था अफिमको अवैध व्यापारमा टिकेको छ । अफगान राजनीतिको उथलपुथल पनि कतै न कतै अफिमको यही अवैध व्यापारबाट प्रभावित हुन्छ । अफिमको खेती हुने अफगानिस्तानका ग्रामीण क्षेत्रका अधिकांश बासिन्दा आफ्ना आवश्यकताहरु पूरा गर्न यही अफिमको खेतीमा निर्भर हुन्छन् ।
तालिबानीहरुले सन् २०००-२००१ को अमेरिकी हमलाअघिको पाँचवर्षे शासनकालमा अफिमको खेतीमा नियन्त्रण गर्न धेरै हदसम्म सफलता हासिल गरेका थिए । यद्यपि त्यसपछिका सरकारहरु अफिम खेती नियन्त्रणमा असफल रहे ।
प्रतिक्रिया