सोमबार, वैशाख १५, २०८२

लखिमपुर घटनामा मुछिएका आशिष मिश्रा काठमाडौंमा ?

नेपालखोज २०७८ असोज २२ गते १३:३५

काठमाडौं । भारतको उत्तर प्रदेश राज्य स्थित लखिमपुर खिरीमा प्रदर्शनकारी किसानहरुलाई गाडीले कुल्चिएर मारेको आरोप लागेका गृह राज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रा भागेर नेपाल पुगेको खबरलाई उनका नातेदारहरुले गलत भनेका छन् ।

नातेदार अभिजित मिश्राको दाबी छ कि- ‘आशिष मिश्रा अहिले लखिमपुरमै छन् । उनी न्यायिक जाँचमा सहयोग गर्न तयार छन् । लखिमपुर खिरी पश्चिम नेपालको सीमावर्ती क्षेत्र हो ।’

यसअघि आशिष आफ्ना साथी अंकित दाससँग नेपाल प्रवेश गरेको समाचार भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका थिए । समाचारमा उनीहरु दुवैको लोकेसन नेपालको राजधानी काठमाडौं देखिएको दाबीसमेत गरिएको थियो ।

आशिषलाई आज सोधपुछका लागि बोलाइए पनि उनी निर्धारित बिहान १० बजेको समयमा जाँच कमिटीसामु उपस्थित भएका छैनन् । चारजना किसानलाई जानिजानी गाडीले कुल्चिएर मारेको भन्दै अहिले भारतको राजनीति गर्माएको छ ।

यहि विषयमा प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा भारतीय जनता पार्टीलाई घेर्ने योजनामा विपक्षीहरु छन् । यो घटनाको छानबिन डीआईजी उपेन्द्र अग्रवाल अध्यक्ष रहेको समितिले गरिरहेको छ ।

उता जुन महिन्द्रा थार गाडीले किसानहरुलाई कुल्चिएको थियो त्यसमा आशीष मिश्रा नभएको बताइँदै छ । आशिष गाडीहरुको त्यो जुलुसमा भए पनि उनीचाहिँ महिन्द्रा थारको पछाडि भएको फर्च्युनर कारमा साथी अंकित दास सँगै भएको दाबी गरिएको छ । उक्त घटनापछि भिडले त्यो फर्च्युनर तोडफोड गर्दै त्यसमा पनि आगो लगाइदिएका थिए ।

घटनामा आशिषका निकटस्थ लव कुश र आशिष पाण्डे गिरफ्तार भएका छन् । अन्य पाँचजना पनि हिरासतमा छन् ।

प्रतिक्रिया