मंगलबार, वैशाख ३०, २०८२

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

नेपालखोज २०७८ असोज २३ गते ७:३०

बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले कोभिड-१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ ।

नगरपालिकाले शुक्रबार सहयोग रकम वितरण कार्यक्रम आयोजना गरी प्रतिमृतक ५० हजार रूपैयाँका दरले १८ जनाको परिवारलाई नगद रकम सहयोग प्रदान गरेको हो ।

नगरपालिका स्वास्थ्य शाखाका अधिकृत दीपक घिमिरेले नगरपालिकाभित्रका कोभिड–१९ को संक्रमणका कारण उपचारको क्रममा मृत्यु भएकाको परिवारलाई सो रकम वितरण गरेको बताए ।

कोभिड–१९ को संक्रमणबाट संक्रमित भई जिल्लाभित्रैका अस्पताल तथा जिल्ला बाहिरका अस्पतालमा उपचारको क्रममा पहिलो लहरमा संक्रमण भएर मृत्यु भएको चार र दोस्रो लहरको संक्रमणमा परी मृत्यु भएका २२ गरी २६ जना नगरभित्रका बासिन्दाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ ।

जसमध्ये १८ जनाको परिवारलाई सहयोग रकम वितरण गरेको र वितरण गर्न बाँकीलाई पनि नाता प्रमाणित र वडा कार्यालयको सिफारिससहित आवश्यक कागजात पुर्‍याएर सम्पर्कमा आउनेलाई छिट्टै रकम वितरण गर्ने जनाइएको छ ।

नगरपालिका प्रमुख टोकबहादुर वाइबाले कोभिड–१९ संक्रमणको कारण मृत्यु भएकाको परिवारलाई नगरपालिकाको तर्फबाट सान्त्वनास्वरुप नगद सहयोग प्रदान गरेको बताए ।

‘सङ्क्रमणमा परेकालाई बचाउन हरतरहले उपचारको लागि सहयोग गर्दा पनि बचाउन नसकेपछि मृत्यु भएकाको परिवारमा विचल्लीमा रहेकालाई सान्त्वनास्वरुप सहयोग गरेका हौं’ नगर प्रमुख वाइबाले भने, ‘विपत् र समस्यामा नगरबासीको साथमा सधैँभरि नगरपालिका रहेको छ भन्ने उदारहणको लागि पनि यो सहयोग रकम प्रदान गरेका हौँ ।’ नगरपालिकाको नवौँ नगरसभाले नै पारित गरेको निर्णयअनुसार शुक्रबार मृतक परिवारलाई रकम सहयोग वितरण गरेको प्रमुख वाइबाले बताए ।

त्यस्तै संक्रमण भएर भेन्टिलेटरमा उपचार गराएका विपन्न बिरामीलाई पनि २५ हजार रूपैयाँका दरले रकम सहयोग गर्ने भएको वाइबाले बताए । रासस

प्रतिक्रिया