‘पार्टीलाई योगदान दिएका साथी छुटेकामा दु:खी छु’

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विस्तार गर्दा धेरै महत्त्वपूर्ण नेताहरु छुटेको स्वीकार गरेका छन् ।
प्रधानमन्त्री देउवाले संयुक्त सरकार भएकाले सबैलाई समेट्न नसकिएको स्पष्ट पार्दै भोलिका दिनमा सबैलाई समेटेर लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ‘विश्वेश्वर प्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टीलाई योगदान दिएका साथीहरु छुटेकोमा दुःख व्यक्त गर्दै उनीहरुलाई उचित भूमिका दिने आश्वासनसमेत दिए ।
प्रधानमन्त्री देउवाले शुक्रबार (हिजो) मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । तर महत्वपूर्ण नेताहरुलाई समेट्न नसकिएको प्रधानमन्त्री देउवाको भनाइ छ ।
उनले भने, ‘भर्खरै सरकार बनेको छ । सरकारमा धेरै र महत्वपूर्ण साथीहरु छुटेका छन् । पार्टीलाई योगदान दिएका साथीहरु छुटेका छन् । संयुक्त सरकार भएकाले सबैलाई समेटन सकिएन । भोलिका दिनमा सबैलाई समेटेर लैजानेछु ।’
कार्यक्रममा प्रधानमन्त्री देउवाले स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको सो पुस्तक बीपीबारे जान्न खोज्ने सबैलाई उपयोगी हुने विश्वाससमेत व्यक्त गरे

प्रतिक्रिया