हमाल कांग्रेसका पुरानो नेता भएकाले नै मन्त्री बनाइएको हो : मन्त्री रेग्मी

नेपालखोज २०७८ असोज २३ गते १५:१८

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पूरानो नेता र पछिल्लो समय भिक्टिमाईज भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको स्पष्ट पारेकी छन् ।

मन्त्री भएको भोलिपल्ट आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा शुभकामना एवम् साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘हाम्रो पार्टीको पूरानो नेता हो । उहाँ भिक्टिमाईज हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीको मान्छे हो । अब हेर्नुहोस, कसैको नाता पर्यो होला । तर, उहाँ भिक्टिमाईज भएर सम्मान गरेको हो । गैरसांसद् व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । गजेन्द्र हमाल मन्त्री बन्दा प्रधानन्यायाधीशको सवाल छैन् । सर्वदलीय सहमतिबाट भएको कुरा हो । उहाँलाई मन्त्रीमा ल्याउनुपर्दथ्यो । पार्टीमा त्यत्रो योगदान गरेका मान्छेले अवसर पाउनुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री रेग्मीले नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्नसक्ने र त्यो समय आइरहेको बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्री बन्न महिला योग्य छन् । एक तिहाई महिलाहरुको हरेक ठाउँमा प्रतिनिधित्व भयो भने महिला प्रधानमन्त्री हुनसक्छन् । महिला कार्यकारी प्रमुख भएर पुगे भ्रष्टाचार कम हुन्छ । तर, महिलाहरु पनि यो रेसमा दौडिनुपर्छ । राजनीति भनेको फोहोरी खेल हो । प्रधानमन्त्री बन्नको लागि त महिलाहरु पनि यो रेसमा दौडिनुपर्छ । स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ । अहिले त पहिलाभन्दा धेरै परिवर्तन भएको छ । नेतृत्वको जिम्मेवारी पाए कुशलतापूर्वक त्यो जिम्मेवारी वहन गर्नसक्ने महिला छन् । मलाई जिम्मा दिएपनि म आरामले देश चलाउन सक्छु । पार्टी भनेपनि, सरकार भनेपनि, यी सबै समाजको छायाँ त हुन नि ।’

उनले निकट भविष्यमा नै महिला पनि प्रधानमन्त्री हुनसक्ने भन्दै आशा गर्न भनेकीछिन् । उनले अघि भनिन्,‘हाम्रो देशमा महिलाहरु राष्ट्रपति हुनुभयो । सभामुख हुनुभयो । प्रधानन्यायाधीश पनि हुनुभयो । अब प्रधानमन्त्री हुन महिला तयार भएर आउँछन् । कसैले धकेलेर हुँदैन् । यो दिन टाढा छैन् ।’

त्यस्तै, उनले पार्टीको आगामी १४औं महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने पनि विश्वास दिलाइन् । उनले भनिन्, ‘हरेक तहमा समान प्रतिनिधित्व हुनुपर्छ । वडादेखि केन्द्रसम्म महिला पनि पदाधिकारी हुनुपर्ने व्यवस्था गर्नुपर्छ ।’ आफूले रोजेर नै यो मन्त्रालयको जिम्मेवारी लिएको पनि उनको भनाइ छ ।

उनले बच्चाहरुलाई पनि खोप दिन जरुरी रहेको भन्दै यस विषयमा । स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर खोपको व्यवस्था गर्न आफूले पहल गर्ने पनि विश्वास दिलाइन् ।

उनले अहिले दुरदराजमा बालबालिका कुपोषणबाट ग्रसित रहेको उल्लेख गर्दै उनीहरुको जीवन रक्षाको लागि पनि विशेष ध्यान दिएर काम गर्ने बताइन् ।

उनले भनिन्, ‘सहरी क्षेत्रमा त यहाँका बालबालिकाले अनलाईन पढ्न पाए, दुरदराजमा कसरी पढ्ने ? डाँडाको रुखमा गएर तन्ना ओछ्याएर पढेका छन् । समान अवसरको व्यवस्था गर्नुपर्छ । म धेरै महत्वकांक्षी नबनौं । तर, केही गरुँ भन्ने हो । म आन्दोलनको मान्छे हो । आन्दोलन पूरा भएको छैन् । सकेको काम गर्छु । पछि परेकाहरुको लागि ईम्पाओर गर्छु ।’

प्रतिक्रिया