बिहीबार, जेठ २, २०८२

अर्थमन्त्री शर्माले भने- मौलिक राजनीतिक दर्शन छाड्दा पार्टीमा समस्या आयो (भिडियोसहित)

नेपालखोज २०७८ असोज २३ गते १९:०१

काठमाडौं नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन् ।

पार्टीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले आज गरेको कार्यक्रममा उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताए । “प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो”, उनले भने, “अब प्रचण्डपथ र एक्काइसौँ शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुपर्‍यो ।”

उनले पार्टीलाई जननियन्त्रित र जननिर्देशित पार्टीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । “जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताले गरेका गल्तीमा जनताले औँला ठड्याउन पाउनुपर्‍यो । हामीले गरेका गल्तीउपर जनताले भण्डाफोर गर्ने मौका पाउनुपर्‍यो । यस्तो खालको पार्टी बनाउनुपर्‍यो अब ।”

माओवादी केन्द्रको संगठन विभाग प्रमुखसमेत रहेका नेता शर्माले भने, “अबको पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ । सफ्टवेयरको जमाना छ । प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताको मूल्यांकन गरिन्छ ।”

संगठन विभागको प्रस्तावमा स्थायी समितिले ‘देश बनाऔँ टोलबाट, पार्टी बनाऔँ सेलबाट’ भन्ने नारा पारित गरेको भन्दै उनले यसलाई देशभर अभियानका रूपमा लागू गर्नुपर्नेमा जोड दिए । पार्टीको पक्षमा ३० लाख संगठित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ त्यसका लागि संगठनात्मक फर्मूलासमेत तयार गरेको जानकारी दिए ।

अर्थमन्त्रीसमेत रहेका नेता शर्माले अबदेखि पार्टी र जनसंगठनका हरेक कमिटी आर्थिक उत्पादन, रोजगारी र सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा अनिवार्यरूपले जोडिनुपर्ने बताए । हरेक कमिटी र हरेक व्यक्ति आर्थिकरूपले आत्मनिर्भर भएपछि मात्र समाजवाद आउने भएकाले पार्टीको नेतृत्वमा समाजवादी आन्दोलन अघि बढाउन उनले आग्रह गरे ।

अर्थमन्त्री शर्माले अब नेपालमा बन्द भएका उद्योग चलाउने, नयाँ उद्योगधन्दा खोलेर रोजगारी सिर्जना गर्ने र राष्ट्रिय पूँजी निर्माण गर्ने गरी सरकारले नीति बनाएको जानकारी दिए । सरकारले सहिद परिवारलाई मासिक वृत्ति, दीर्घरोगीलाई मासिक उपचार खर्च, राजनीतिक आन्दोलनका घाइतेको निःशुुल्क उपचारको व्यवस्था, महिला पहिला कार्यक्रम, युवा रोजगारी, दलित आवास निर्माण, पढ्दै कमाउँदै, डिजिटल शिक्षालगायत लोककल्याणकारी कार्यक्रम ल्याएको र तिनको कार्यान्वयनसमेत अघि बढिसकेको मन्त्री शर्माले जानकारी दिए ।

प्रतिक्रिया