प्रधानमन्त्रीले साक्षर गण्डकी प्रदेश घोषणा गर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन् । पोखरामा गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै पार्टीका कार्यक्रममा सहभागी हुन उनी पोखरा जाने भएका हुन् ।
कार्यक्रम अनुसार १०.३० बजे पोखरा विमानस्थल आएसँगै प्रधानमन्त्रीले पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा सो मन्त्रालयद्वारा निर्मित साक्षर गण्डकी प्रदेशको स्तम्भ अनावरण गर्ने छन्।
यसपश्चात् पोखरा सभागृहमा साक्षर गण्डकी प्रदेश घोषणा समारोहको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए।
ती कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति देउवा कांग्रेस पोखरा महानगरपालिका–१७ इकाइ समितिको आयोजना हुने विजयादशमी तथा दिपावली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने कांग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया