माग सम्बोधन भएन, विद्यार्थी भन्छन्- हामी डिप्रेसनमा जान लाग्यौं

काठमाडौं । नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन् ।
आजदेखि काठमाडौंको माइतिघर मण्डलमा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेल मेडिकल क्यापसमा एमबिबिएस पढ्न विद्यार्थीले अनसन सुरु गरेका हुन् ।
नोबेल कलेजबाट पिडित १० विद्यार्थीहरुले सरकारले बनाएको नियम कानुन नमान्ने क्यापसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरणसहित स्थानन्तरण गर्न सरकारसँग माग राख्दै रिले अनसन, भोक हड्ताल तथा धर्ना सुरु गरेका हुन् । उनिहरुले विगत ८० दिनदेखि निरन्तररुपमा अध्ययन शुल्कको अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेका छन् ।
नोबेल मेडिकल क्यापसका अनसनरत विद्यार्थी रुपेश पौडेलले चिकित्सा शिक्षा आयोगले उपत्यका बाहिरका मेडिकल कलेजले ४४ लाखमा एमबिबिएस पढाउन भने पनि नोबेल मेडिकल कलेजले त्यो शूल्क भन्दा बढी शुल्क लिएकाले विद्यार्थी आन्दोलित भएको बताए ।
उनले नोबेल कलेजले सरकारले तोकेको भन्दा बढी शूल्क लिएपछि राज्यका सबै निकायमा अतिरिक्त शुल्क घटाउनको लागि माग लिएर गए पनि कसैले नसुनेको गुनासो गरे । धेरै विद्यार्थीले आत्मसर्मपण गरेर कलेजले तोकेको शूल्कमा पढ्न थाले पनि १० जना विद्यार्थी भने शिक्षण अस्पतालमा स्थानन्तरणको लागि रिले अनसनमा बसेका हुन् ।
त्यस्तै, पौडेलले राज्यले बनाएको कानुन राज्यले नै कार्यान्वय गर्न नसक्दा एमबिबिएस पढ्ने विद्यार्थी डिप्रेसमा पुग्ने अवस्थामा पुगेको बताए । उनले राज्यका हरेक निकायमा माग सम्बोधनको लागि गुहार माग्दा सुनुवाइ नभएकाले बाध्य भएर अनसन सुरु गरिएको बताए । एमबिबिएस पढ्न आएका विद्यार्थी राज्यको कानुन कार्यान्वय गराउनको लागि सडकमा आउनु परेको पौडेलले गुनासो गरे ।
रिले अनसनमा विद्यार्थीहरुले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर, २०१५/१६ ब्याजका विद्यार्थी इन्टर्नशिपको व्यवस्थापन छिाटो गर, हाम्रो न्यायोचित माग सम्बोधन गर, विद्यार्थीको भविष्य सुनिश्चित गर, सुरक्षित स्थानमा पढ्ने वातावरण बना, डे ८० स्थानन्तरण गरियोस् भन्ने प्लेकार्ड राखेर अनसनमा बसेका छन् ।

प्रतिक्रिया