‘बन्दीपुरको एकीकृत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध’

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
तनहुँको बन्दीपुरस्थित शहीद पार्कमा आयोजित कार्यक्रममा उनले बन्दीपुरको एकीकृत विकासका लागि प्रतिबद्ध रहेकाले गुरुयोजना बनाएर काम अगाडि बढाउन आग्रह गरे ।
राणा शासनविरुद्धको आन्दोलन उत्कर्षमा पुगिरहेका बेला पहिला वीरगञ्ज र त्यसपछि बन्दीपुरमा जनसरकार घोषणा भएको जनाउँदै उनले बन्दीपुर कब्जा गर्नेबेलामा पुरुषका साथमा महिला पनि उत्तिकै खटिएको स्मरण गरे ।
आन्दोलनमा उत्रनेदेखि घाइतेको उपचारका लागि श्रीभद्र शर्माकी आमा र करुमाया रानासहितका महिला अग्रसर रहेको उनको भनाइ छ ।
विसं २००७ मा जहानीय शासनविरुद्ध आन्दोनमा उत्रनु भनेको त्यतिबेला असामान्य अवस्था भएको उल्लेख गर्दै उनले आन्दोलनमा उत्रनाका लागि चेतना भर्ने अगुवालाई राष्ट्रले सम्मान गर्नुपर्ने बताए ।
बन्दीपुर आफै ऐतिहासिक सहर भएको र पर्यटकीय महत्व बोकेको ठाउँ भएकाले त्यहाँ थप पर्यटक आकर्षित गर्ने खालका योजना ल्याउन पनि प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
प्रदेश सरकारको स्रोतले नपुगेको खण्डमा सङ्घ सरकारसँग समन्वय गर्ने उनले बताए । कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले बन्दीपुरलाई प्रजातान्त्रिक आन्दोलनको अध्ययनस्थलका रुपमा विकास गर्न सकिने भनाइ राखे ।
प्रदेशसभा सदस्य डोवाटे विश्वकर्माले गोबद्र्धन पोखरेलसहितको नेतृत्वमा बन्दीपुर कब्जा गरिएको भन्दै सङ्घर्षबाट प्राप्त उपलब्धिको जगेर्ना गर्नु सबैको दायित्व रहेको बताए ।
बन्दीपुरमा शहीद स्मारक बाटिका निर्माण गरिएको छ । विसं २०४९ मा उद्घाटन गरिएको उक्त बाटिकमा शहीद स्तम्भ र समाधिस्थल बनाइएको छ । रासस

प्रतिक्रिया