भारतबाट नेपाल फर्किनेको लर्को !

नेपालखोज २०७८ असोज २४ गते १७:०१

काठमाडौं । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ । दसैँ–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो ।

सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहरबाट चाडपर्व मनाउन गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको प्रहरीले जनाएको छ ।

बितेको दुई सातायतायता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट १० हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किनेको भीड बढेपछि प्रहरीले सीमा क्षेत्रको सुरक्षा सर्तकता बढाएको छ । गड्डाचौकी नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर निगरानी बढाइएको छ । भने यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले चाडपर्वका बेला हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजनासमेत बनाएर शान्ति सुरक्षाका लागि खटिएको छ ।

त्यसैगरी डोकेबजारस्थित प्रहरीचौकी पचगडियाका प्रहरी नायब निरीक्षक दिपेन्द्र थापाले चाडपर्व मनाउन स्वदेश फर्किने क्रम यहाँबाट पनि बढेको बताए । सो नाकाबाट दैनिक पाँच सयदेखि एक हजार ४०० सम्म दैनिक भित्रिएको तथ्याङ्कले देखाएको छ ।

भारतको दिल्ली, मुम्बै, महाराष्ट्र, पञ्जाव, पुना, बैङ्लोर, सिमला, हरिद्धारलगायतका सहरमा नेपाली रोजगारीका लागि सदियौंदेखि आउने जाने गरेका छन् ।
त्यसैगरी भारतबाट घर फर्किनेबाट कोभिड सङ्क्रमणको जोखिम रहेकाले जिल्ला स्वास्थ्य कार्यालयले सीमामा परीक्षण र खोप लगाउने कामलाई अघि बढाएको छ ।

स्वास्थ्य कार्यालयले गड्डाचौकीमा सङ्क्रमण देखिएकालाई कम्युनिटी हेल्थ इन्स्टिच्युट ९आइसीएच० को आइसोलेशनमा राख्ने गरिएको बताए ।
यता भारतबाट स्वदेश फर्किनेले भने सीमामा घण्टौं लाइन बस्नु पर्दा समस्या भइरहेको गुनासो पोखेका छन् । उनीहरुले स्वास्थ्य सर्तकताका लागि पहल गरिए पनि सहज गर्न माग गरेका छन् ।

स्थानीय प्रशासनले भारतीय नागरिकलाई भने आधार कार्ड, कोराना परीक्षण गरेको कागजात देखाएमात्रै नेपाल प्रवेश गर्न अनुमति दिएको छ । रासस

प्रतिक्रिया