शुक्रबार, वैशाख ७, २०८१

के दुई हजारदेखि पैंतीस सय मिटरको उचाइमा बस्नेहरुमा स्ट्रोकको जोखिम कम हुन्छ ?

नेपालखोज २०७८ असोज २५ गते ७:४९

काठमाडौं । के अधिक उचाइमा बसोबास गर्ने मानिसहरुमा ह्र्दयाघातको सम्भावना कम हुन्छ ? यो प्रश्नमा केन्द्रित भएर गरिएको एक अध्ययन प्रतिवेदनअनुसार दुई हजारदेखि पैंतीस सय मिटर (नौ हजार फिट देखि साढे दश हजार फिट) को उचाइ मा बसोबास गर्ने मानिसहरुमा स्ट्रोक अर्थात् घात र त्यसबाट हुने मृत्युको सम्भावना सबैभन्दा कम हुन्छ । निकै उचाइका अर्थात् पहाडै-पहाडले भरिएको नेपालजस्तो मुलुकलाई राहत दिने यो जानकारी हालै ओपन-एक्सेस जर्नल फ्रन्टियर्स इन फिजियोलोजीमा प्रकाशित एक शोधमा प्रकाशित भएको छ ।

यो विषयमा पहिलोपटक इक्वेडोरमा शोध गरिएको थियो । उक्त शोधमा चार अलग-अलग उचाइमा बसोबास गर्ने मानिसहरुमा हुने आघात र अस्पताल भर्ती तथा मृत्युसम्बन्धी तथ्यांकको विश्लेषण गरिएको थियो । यसमा १७ वर्षयता एकत्र गरिएको एक लाखभन्दा बढी आघातसम्बन्धी घटनाको तथ्यांकको विश्लेषण गरिएको थियो ।

यो शोधका प्रमुख शोधकर्ता एस्टेबन अर्टिज-प्राडोका अनुसार संसारमा करिब १६ करोड मानिस २५ सय मिटर (साढे सात हजार फिट) भन्दा माथि बसोबास गर्छन् । यो उचाइमा बस्नेहरुको स्ट्रोक र उनीहरुको अन्य उचाइमा बस्नेहरुको स्वास्थ्यको तुलनामा हुने फरक स्वास्थका सम्बन्धमा धेरै कम जानकारी उपलब्ध छ । यद्यपि यो अध्ययनले के देखाएको छ भने बढी उचाइमा बसोबास गर्नेहरुमा स्ट्रोक र स्ट्रोकसँग सम्बन्धित मृत्युको जोखिम कम हुन्छ । त्यसमा पनि २००० देखि ३५०० मिटरको उचाइमा बसोबास गर्नेहरुमा यस्तो जोखिम अन्य उचाइमा बस्नेहरूको तुलनामा सबैभन्दा कम हुन्छ ।

अहिलेको संसारमा हृदय वा मस्तिष्क आघात, मृत्यु वा अपांगताको एउटा प्रमुख कारण हो जुन मस्तिष्क वा हृदयभित्र रगत पुर्‍याउने धमनीमा रगत जमेर वा उक्त धमनी (नशा) अवरुद्ध भएका कारण हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर हरेक वर्ष आघातका करिब डेढ करोड घटना हुन्छन् । जसमध्ये ५० लाख बिरामीको मृत्यु हुन्छ भने थप ५० लाख मानिस अपांगताको सिकार हुन्छन् । सामान्यत: ४० वर्षभन्दा कम उमेरका मानिस आघातको हुनुलाई असामान्य मानिन्छ तर यदि त्यो उमेरमा त्यस्तो हुन्छ भने त्यसका लागि मुख्य रूपले उच्च रक्तचाप जिम्मेवार हुन्छ । यसैगरी सिकल सेलबाट ग्रस्त ८ प्रतिशत बालबालिकामा पनि आघातको समस्या देखिएको छ ।

यो समस्या खासगरी खराब जीवनशैलीसँग जोडिएको छ । जसमा धूमपान तथा तम्बाखुको सेवन प्रमुख छ । यसका साथै उच्च रक्तचाप, कोलस्ट्रोल, शारीरिक गतिविधिमा कमी आदिका कारण पनि आघातको जोखिम वृद्धि हुन्छ । अनुमानअनुसार यदि रक्तचापलाई नियन्त्रित गर्ने हो भने स्ट्रोकबाट हुने १० मध्ये ४ मृत्यु रोक्न सकिन्छ । भनिन्छ ६५ वर्षभन्दा कम आयुमा हुने मृत्युमा ५ मध्ये २ दुई स्ट्रोक मृत्युमा धूमपान जिम्मेवार हुन्छ ।

शोधबाट प्राप्त तथ्यअनुसार जमिनको सतहको उचाइको अर्थ हुन्छ अक्सिजनको कमी त्यसैले जो मानिस यी पहाड वा उचाइमा बसोबास गर्छन् । उनीहरु त्यहाँको परिस्थितिसँग अनुकूल भइसकेका हुन्छन् । त्यति मात्र होइन उनीहरुको शरीर वा नशा आघातबाट हुने क्षति वहन गर्न सक्ने भइसकेको हुन्छ । उनीहरुको रक्तवाहिका नशाको नेटवर्क पनि विकसित हुन्छ जसले नाक-मुखबाट ग्रहण गरेको अक्सिजनको अधिकतम लाभ उठाउन मद्दत गर्छ । त्यसका साथै यसले आघातको सबैभन्दा खराब प्रभावलाई कम गर्न पनि मद्दत पुर्‍याउँछ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया