जिप दुर्घटनामा ३ जनाको मृत्यु, १४ घाइते
काठमाडौं । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घटनामा परी एउटै गाउँका दुईसहित ३ जनाको मृत्यु भएको छ ।
गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।
जिपमा सवार रहेका १९ जनामध्ये आइतबार वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा दुई जना र गए राति पोखरास्थित मणिपाल अस्पतालमा थप एकसहित तीन जनाको मृत्यु भएको हो ।
गल्याङ नगरपालिका–१० की करिष्मा थापाको मणिपाल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
ज्यान गुमाउनेमध्ये तीनै जना एउटै वडाका हुन् भने दुई जना लिहुडाँडाका र एकजना गाउँसौराका रहेका गल्याङ नगरपालिका–१० का वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पङ्गेनीले जानकारी दिए ।
दसैँको बेला बजारबाट गाउँतर्फ फर्किदै गरेका एउटै गाउँका आफन्तलाई गुमाउनुपर्दा र अङ्गभङ्ग भएर अस्पतालमा बस्नुपर्दा अहिले गाउँमा निक्कै पीडा महसुस भएको वडाध्यक्ष पङ्गेनीले बताए ।
वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जिप कच्ची उकालो बाटोबाट आइतबार साँझ झण्डै ५० मिटर तल खसेको थियो । उक्त जिपमा चालकसहित १९ यात्रु थिए ।
चालकसहित अन्य दुई जना सामान्य उपचारपछि निको भएका छन् भने बाँकी रहेका १४ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया