निर्माण भयो रघुगंगा गाउँपालिकाको बहुद्देश्यीय भवन

नेपालखोज २०७८ असोज २७ गते ७:०१

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको भवन निर्माण भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन बनेको हो ।

एक करोड १० लाख रूपैयाँ लागत अनुमान गरिएको भवन बनाउन विसं २०७७ फागुनमा हिमालयन बिल्डर्सले ७६ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

चौतिस फिट चौडाइ र ४४ फिट लम्बाइ भएको तीन तले भवनको भुइँ तलामा पाँच कोठा रहेको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिए ।

‘ठेक्कामा बचेको २५ लाख रूपैयाँ बजेटले सभाहलको चौडाई बढाएर उपभोक्ता समिति मार्फत प्रत्येक तलामा दुई/दुई वटा कोठा थप गरिएको छ,’ उनले भने ‘उपभोक्ता समितिसँग भएको सम्झौता अनुसारको काम सकिएको छ । निर्माण व्यवसायीले रंगरोगन, ¥यालमा सिसा राखने र बिद्युत जडान बाहेकका काम सकेका छन् ।’

सभाहल रहेको पहिलो तलामा कोठा बिभाजन गरेर अगामी तिहार लगत्तै कार्यालय सञ्चालन गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताए ।

अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्राबिधिक र लेखा शाखालाई नयाँ भवनमा सार्ने योजना छ । गत असार महिनाभित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कोरोनाको जोखिम र निषेधाज्ञाका कारण थपिएको समय भित्रै भवन निर्माण सकिन लागेको हो ।

भवनको माथिल्लो तलामा सभाहल बनाउन यस बर्ष बिनियोजन भएको बजेटबाट ठेक्का आव्हान गर्ने तयारी भएको छ । हाल गाउँपालिकाको कार्यालय मासिक एक लाख रूपैयाँ भाडा तिरेर मौवाफाँट स्थित चार निजी घरबाट सञ्चालन गरिएको छ ।

मौवाफाँटमा समुदायबाट प्राप्त भएको जग्गा ब्यवस्थापन गरेर पहिलो पटक गाउँपालिकाको पूर्बाधार निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले २५ रोपनी जग्गा ब्यवस्थापन गरेर सडक, गाउँपालिका र जग्गाधनीलाई ३३/३३ प्रतिशत बाँडफाड गरिएको बताए । ‘आठ रोपनी जग्गा गाउँपालिकालाई निशूल्क दिनुभएको हो,’ उनले भने ‘३२ जग्गाधनीको सहमति लिएर चार वर्षदेखि जग्गा ब्यवस्थापनको काम सुरु गरेका थियौ ।’ जग्गा ब्यवस्थापन र बिकास गर्न दुई करोड ५० लाख रूपैयाँभन्दा बढी खर्च भएको छ ।

धेरै जनाको थोरैथोरै जग्गालाई एकीकृत र चक्लाबन्दी गरेर वरपर आठ मिटर फराकिलो सडक बनाइएको छ । माथिल्लो र तल्लो भागको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिएको छ । बीचको जग्गा गाउँपालिकालाई उपलब्ध गराइएको छ । रासस

प्रतिक्रिया