शुक्रबार, वैशाख ७, २०८१

यस्ता छन् सूर्य नमस्कारका नियम, विधि र आवश्यक सामग्री

डा. हेमराज कोइराला २०७८ असोज २८ गते ७:४६

सूर्य नमस्कार धेरैजनाले अभ्यास गर्ने गरेको योग आसनको समूह हो । यो योगिक क्रिया गरेर धेरैवटा योगासन गरेबराबरको लाभ लिन सकिन्छ । सूर्य नमस्कारमा १२ वटा आसनलाई समावेश गरिएको छ। यी आसनहरूको शृंखलाबद्ध अभ्यासले शारीरिक, मानसिक एवं आध्यात्मिक लाभ मिल्छ ।

सूर्य-नमस्कार गर्दा अपनाउने नियमहरू
सूर्य नमस्कार गर्न उपयुक्त समय ब्रह्म मुहूर्त हो तथापि पेट खाली छ भने साँझपख पनि गर्न सकिन्छ । ब्रह्म मुहूर्त भनेको बिहान घाम झुल्किनुभन्दा डेढ घण्टाअगाडि देखि घाम झुल्किने बेलासम्मको समय हो । सूर्य नमस्कार गर्न बह्म मुहूर्तमा उठेर शौच, स्नानादि गरिसकेर, खुकुलो वस्त्र लगाई गर्नुपर्छ ।

१. सूर्य नमस्कार गर्दा पूर्व दिशामा फर्किएर गर्नु चलन छ ।
२. सूर्य नमस्कार गरेको बेला शरीरको प्रत्येक क्रियालाई ध्यानपूर्वक एवं आरमदायक ढंगले गर्नुपर्छ ।
३. सूर्य नमस्कारको अभ्यास सुरु गर्नुअघि विज्ञ योग गुरुको निर्देशनमा गर्नुपर्ने हुन्छ ।
४. स्वास्थ्यमा समस्या भएकाहरूले चिकित्सकको परामर्शमा मात्र अभ्यास गर्नुपर्छ ।
५. सूर्य नमस्कार गर्दा हतारमा होइन, आरमसाथ श्वासको गतिका साथ गुर्नपर्ने हुन्छ ।

आवश्यक सामग्री
सूर्य नमस्कार गर्न हलुका खालको सुतीको कपडा र एउटा योग म्याटको आवश्यकता पर्छ ।

सूर्य नमस्कार विधि
योग म्याटलाई पूर्व-पश्चिम दिशामा भूमिमा बिच्छ्याएर म्याटको अग्रभागमा दुवै खुट्टालाई आपसमा जोडेर, हातलाई शरीरसँग टँसाएर उभिनुपर्ने हुन्छ । अब दुवै हातलाई आपसमा जोडेर नमस्कार मुद्रा धारण गर्दै पूर्व क्षितिजमा सुन्दर सूर्योदय भएको दृष्यको कल्पना गर्नुपर्ने हुन्छ । यसरी उभिँदा शरीरको दायाँ र बायाँ पक्षलाई सन्तुलित गर्नुहोस् । पेटलाई भित्र तानेर छातीलाई बाहिर फुलाउनुहोस् । नमस्कार गर्दा हातले छाती नछुनुहोस् र काँधलाई शिथिल छोड्नुहोला ।

सूर्य–नमस्कारको फाइदा
१. मांसपेशीलाई लाचिलो र फुर्तिलो बनाउँछ ।
२. तौल घटाउन सहयोग गर्छ ।
३. नियमित अभ्यासले स्नायू प्रणालीलाई मजबुत बनाउँछ ।
४. प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।
५. रक्तचाप घटाउन सहयोग गर्छ ।
६. मधुमेहलाई पनि नियन्त्रण गर्न मद्दत गर्छ ।
७. अभ्यासपछि शरीरलाई आनन्द प्रदान गर्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया