शुक्रबार, जेठ ४, २०८१

रोकिएन कोरोना कहर, रेकर्ड बनाउँदै रुस !

नेपालखोज २०७८ असोज २८ गते ९:३१

मास्को । संसारमा कोरोनाको संकट घटे जस्तो देखिए पनि सोभियत रुसको उदाहरणबाट के पुष्टि भएको छ भने यसको जोखिम अझै पनि उत्तिकै छ । कुनै पनि लापरबाही निकै घातक सिद्ध हुनसक्छ । रूसमा गएको मंगलबार कोरोना भाइरसको संक्रमणका कारण ९७३ जनाको मृत्यु भयो जुन कोरोना महामारी सुरु भएयता एकैदिनमा मर्नेहरुको रेकर्ड मृत्यु हो ।

अन्य धेरै मुलुकमा कोरोनाको प्रकोप घटिरहेका बेला रुसको यो तथ्यांकले सबैलाई झस्काएको छ । भनिन्छ रुसमा कोरोनाविरुद्धको खोप अभियान आफ्नो लक्ष्यभन्दा पछाडि छ । कोरोनाको संक्रमण भने लगातार बढिरहेको छ । रुसले कोरोनाविरुद्धको खोप स्पुतनिक आफैं उत्पादन गर्दै आएको छ ।

रुसमा यो अक्टोबरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या मात्र होइन नयाँ संक्रमितको संख्याले पनि रेकर्ड बनाइरहेको छ । रुसमा यो महिना कोरोना संक्रमित हुनेहरुको एक दिनको रेकर्ड २८ हजार नाघ्यो । त्यहाँ अहिलेसम्मको तथ्यांकमा कुल ७८ लाख संक्रमित र दुई लाख १८ हजार ३४५ जनाको मृत्यु दर्ता भइसकेको छ । यो मृत्यु युरोपेली मुलुकमध्ये सबैभन्दा बढी हो ।

रूसको यस्तो स्थितिका लागि सुस्त खोप अभियानलाई जिम्मेवार मानिएको छ । रुसमा अहिलेसम्म १४.६० करोड जनसंख्याको ३३ प्रतिशतले अर्थात् ४.७८ लाखले मात्र कोरोनाविरुद्धको खोपको कमसेकम एक डोज पाएका छन् । त्यसमध्ये २९ प्रतिशत अर्थात् ४.२४ करोडले खोपको दुवै डोज पाएका छन् ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया