‘चाडपर्व नेपाली समाजको मौलिक पहिचान’

नेपालखोज २०७८ असोज २९ गते ७:०६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गरेकी छन् । दसैँले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका साथै नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा थप्ने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कोभिड-१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रहसमेत गरेकी छन् ।

‘बडादसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसादस्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने चाड हो,’ राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा भनिएको छ, ‘नकारात्मक प्रवृत्तिका विरुद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमीको पर्वको नेपाली समाजमा विशेष महत्त्व छ ।’

वर्षाको हिलोमैलोपछि सुरम्य शरद् ऋतुमा मनाइने दसैँ पर्व शक्तिको उपासना, कृषि औजार तथा हतियारको पूजा गरी मनाइने नेपालीहरूको मौलिक सांस्कृतिक चाड भएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

‘यस पर्वको कृषिप्रधान नेपाली समाजको जीवनपद्धतिसँग समेत अभिन्न सम्बन्ध रहेको छ,’ सन्देशमा भनिएको छ, ‘यस प्रकारका चाडपर्वहरूबाट नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेको जातीय, भाषिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास लिएको छु।’

प्रतिक्रिया