मंगलबार, वैशाख ४, २०८१

शनिबारको व्रत किन बस्ने ?

नेपालखोज २०७८ असोज ३० गते ५:००

शनिबार भगवान शनिदेवको बार भन्ने हामी सबैलाई थाहा छ । आज भगवान् शनीदेवलाई पूजा गर्नु अत्ति उत्तम मानिन्छ । शनिदेवको दृष्टिबाट बच्न शनिबार शनिदेवको विशेष पूजा गरिन्छ । धर्म तथा न्यायका प्रतिक शनिदेव सुख–सम्पत्ति, वैभव र मोक्ष दिने भगवान् हुन् भन्ने विश्वास गरिन्छ । सूर्यपुत्र शनिले संसारमा रहेका हरेक जीवजन्तु तथा मानिसमा सन्तुलन कायम गर्छन् भन्ने मान्यता रहँदै आएको छ ।

शनिदेव पापीहरुका लागि निकै कष्टकारक छन् तर, इमानदारहरुलाई यो ग्रहले हरेक सफलता दिने गर्दछ । शनि ग्रह नीलो रंगको हुन्छ जुन रंगले निरन्तर पृथ्वीलाई नियालिरहेको हुन्छ । यो ग्रह सूर्यबाट टाढा रहेकाले सूर्यको प्रकाश थोरै मात्रामा पुगेर नीलो रंगको भएको हो भनिन्छ ।

शनिदेवलाई के चढाउने ?

शनिबार शनिदेवको पूजा गर्नेहरूले विशेषगरी कालो रङको वस्त्र लगाउनु अनिवार्य हुन्छ । अनि कालै रंगको वस्त्र तथा फलाम कुनै गरीबलाई या शनिदेवलाई चढाउनु पर्दछ । यो दिन पीपललाई पानी चढाउँदा शनिदेव खुसी हुन्छन् भन्ने मान्यता छ । तोरीको तेल पनि शनिदेवलाई अनिवार्य चढाउनु या कोही गरिबलाई दिनु पर्दछ । शनिदेवलाई तल चढाउँदा एक थोपा पनि कतै नझारी चढाउनु पर्दछ । शनिदेवलाई कालो तील पनि असाध्यै मनपर्छ, त्यसैले कालो तील र सख्खर कमिलाहरुलाई खुवाउनु पर्दछ या शनिदेवको मन्दिरमा चढाउनु पर्दछ ।

शनिबारको व्रत किन बस्ने ?

शनिबारको व्रत धनधान्य वृद्धि एवं व्यापार वृद्धिको उद्देश्यले शनिदेवको पूजा गरिन्छ । शनि ग्रहको अनिष्ट फलबाट मुक्त हुन, मनलाई शान्त बनाउन तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि पनि ब्रत बसिन्छ ।

ब्रत बस्ने तरिका :

यो व्रत शूक्लपक्षको जुनसुकै शनिबारबाट प्रारम्भ गर्न सकिन्छ । अझ श्रावण महिनाको शुक्लपक्षको पहिलो शनिबारबाट सुरु गरेमा अझ राम्रो हुने विश्वाश छ । शनिबार बिहान नुहाइधुवाई गरेर कालो या नीलो वस्त्र लगाएर फलामबाट निर्मित शनि प्रतिमालाई पञ्चामृतले स्नान गराई अक्षता, फलफूल आदिले पूजा गरी ‘ॐ शं शनैश्चराय नमः’ यो मन्त्र ३ माला जप्ने गर्नुपर्छ ।

व्रतको दिन नीलो या कालो वस्त्र धारण गर्नुपर्दछ । आफूले भने रात्रीभोजनमा नुन नहालेको खानेकुरा खानुपर्छ । यसो गर्दा ग्रहमा भएको शनिदोष हटेर जान्छ । एउटा भाँडामा शुद्ध पानीमा कालो तिल, ल्वाङ र दूध मिसाई पीपलको बोटमा पूर्व फर्केर उक्त मिश्रित जल चढाउनु पर्दछ । त्यसपछि भगवान भोलेनाथ महादेवको उपासना गर्नुपर्दछ ।

यो व्रत जम्मा १९ वटा शनिबारसम्म लिने मान्यता छ । अन्तिम दिन कालो मास, तिल, फलामका सामान आदि काला पदार्थहरू दान गर्नुपर्छ । ब्राह्मण भोजन गराई तथा वस्त्र, दक्षिणा आदि प्रदान गरी ब्राह्मणलाई प्रसन्न तुल्याउनु पर्दछ ।

प्रतिक्रिया