आइतबार, जेठ ६, २०८१

कुलुङ जातिले चाक्चाकुर पर्व मनाउदै

नेपालखोज २०७९ पुष १५ गते १०:१३

काठमाण्डौँ । आज नेपालका कुलुङ जातिले नयाँ बर्षको रुपमा चाक्चाकुर पर्व मनाउदैछन् । मिनारी दाचाम् निङदोङ चाक्चाकुरको नामबाट मनाइने यो पर्व पुष १५ देखि १७ सम्म तीन दिन मनाउने चलन छ ।

पहिलो दिन नयाँ वर्षमा औपचारिक कार्यक्रमहरु गरेर शुभकामना आदान–प्रदान गर्ने, पिकनिक जाने, नयाँ योजनाहरु बनाउने, खेलकुद, साँस्कृतिक कार्यक्रम आयोजना गर्ने, दोश्रो दिन अन्न तथा धनसम्पत्तीको सहको नाममा पितृपूजा गर्ने, अन्नवालीको सह माग्ने, घरघरमा विभिन्न कुलुङ परिकार बनाएर खाने अनि रमाइलो गर्ने गरिन्छ ।

तेस्रो दिन आफन्तहरुको भेटघाट, टीकाटालो गर्ने, परिवार तथा आफन्तजनका ज्येष्ठ सदस्यबाट आर्शिवाद ग्रहण गर्ने चलन छ । चाक्चाकुरको अवसरमा कुलुङ बस्तीहरुमा मेला लाग्छ । कुलुङ जातिको बसोबास भएका जिल्लाहरु सोलुखूम्बू, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, तेह्रथुम र काठमाण्डौं उपत्यकामा मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाइन्छ । त्यस्तै भारतको सिक्किम, पश्चिम बंगाल, आसाम, नागाल्याण्ड, अरुणाञ्चल लगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ ।

चाक्चाकुरको अवसरमा प्रत्येक कुलुङ परिवारको घरमा मासु, भात, ढिँडो, वाचिप्पा, जाँड–रक्सि, तोङ्बा, फलफुल लगायतका परिकार परिवार र समुदायका सदस्यहरु बसेर सामुहिक रुपमा खाने चलन छ ।

के हो मिनारी दाचाम् निङदोङ चाक्चाकुर ?
कुलुङ भाषामा मिनाको अर्थ मान्छे र मिनारीको अर्थ मान्छेको पाखुरीले हुन्छ । दाचाम्को अर्थ भण्डार वा ढुकुटी हो भने निङदोङले नयाँ वर्ष र चाक्चाकुरले चासुम् (अन्नको सह) तथा पुस महिनालाई जनाउँछ ।

मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँवर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नयाँ यामको प्रारम्भमा पुज्नु नै मिनारी दाचाम निङदोङ चाक्चाकुर हो । यसलाई प्राय चाक्चाकुर मात्रै भनेर चिन्ने गरिन्छ ।

किन मध्य पुसमा मनाइन्छ ?
वर्षभर लगाइएको खेतीपाती पुस (कुलुङ महिना चाक्चाकुर) लाग्दा उठाइ सकिएको हुन्छ, किसान फुर्सदिला हुन्छन । कुलुङ मान्यता अनुसार चाक्चाकुरको मध्यबाट (पछि पुस १५ मानिएको) सूर्य दक्षिणीबाट उत्तरी अक्षांशतिर सर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ । चिसो घटेर पृथ्वीमा तापक्रम बढ्न थाल्छ ।

तापक्रम बढ्न थालेपछि अघिल्लो वर्ष सकिएको र नयाँवर्ष सुरु भएको कुलुङहरु मान्दछन् । त्यसैले पुस मध्य अर्थात १५ कुलुङहरुको नयाँ वर्षको दिन हो ।

प्रतिक्रिया