मंगलबार, मंसिर १८, २०८१

मकवानपुरमा भएको दुर्घटनामा ४ जनाको मृत्यु

नेपालखोज २०७८ असोज ३० गते २१:४०

मकवानपुर । मकवानपुरमा भएका दुई अलग अलगछुट्टा छुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । शनिबार साँझ हेटौडा भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर–२ लामिबगरमा यात्रु लिएर काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ४५११ नम्बरको शिखरपुर यातायातको सुमो आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा दुर्घटना भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

सुमोमा सवार चालक सहित १० जना घाइते भएका मध्ये ६ जनालाई उपचारका लागि पाटन अस्पताल पठाइएकोमा दुईजनाको उपचारको क्रममा ज्यान गएको र ज्यान जाने दुवै पुरुष रहेको प्रहरी निरीक्षक दासले बताए। सुमो चालक सहित अन्य ४ जनालाई थप उपचारका लागि हेटौंडा ल्याइएको र घाइते तथा मृतक कसैको पनि पहिचान नखुलेको जनाइएको छ ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ ।

गएराति नारायणगढबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा–१५ बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले बताए। ठक्कर दिने बस तथा चालक मकवानपुर प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया