ट्र्याक खुलेको १५ वर्षपछि बेनी-बगरफाँट-बरङ्जा सडकको स्तरोन्नति !

नेपालखोज २०७८ असोज ३१ गते ७:५०

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर-बगरफाँट-सुर्केमेला-बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरु भएको छ । ट्र्याक खुलेको १५ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको ४८ लाख ५० हजार रुपैयाँ र स्थानीय जनसहभागिताबाट चार लाख ९५ हजार रुपैयाँ गरी ५३ लाख रुपैयाँको लागतमा स्तरोन्नतिको काम सुरु गरिएको हो । २०६३ मा यो सडकको ट्र्याक खुलेको थियो ।

त्यसैगरी हाँडेभिरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब २ किलोमिटर क्षेत्रमा सडक कालोपत्र गर्न बाटो विस्तार र स्तरोन्नतिको काम पनि भइरहेको छ । जीसी निर्माण सेवाले निर्माणको जिम्मा लिएको सो सडकको स्तरोन्नति कार्य ढिला भएको भनी स्थानीय बासिन्दाले असन्तुष्टि जनाउँदै आएका थिए । सडक फराकिलो बनाउने, जमिनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्र्याक खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । उनका अनुसार सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मिटर र थामडाँडामा सय मिटर नयाँ ट्र्याक खोलिएको छ ।

सडकको मापदण्डअनुसारै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोसेढुंगा साबित हुने स्थानीय बताउँछन् । यो सडक बेनी नगरपालिका २, बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका ४, ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए । सडकको स्तरोन्नति नहुँदा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए । -रासस

प्रतिक्रिया