सरकारले भन्यो- कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा छ

नेपालखोज २०७८ असोज ३१ गते १७:४१

काठमाडौं । सरकारले कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा रहेको दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा ७, ८ र ९ मा असोज १८ गतेदेखि फैलिएको झाडापखाला नियन्त्रणमा रहेको दाबी गरेको छन् ।

प्रवक्ता पौडेलले स्थानीय, प्रदेश र संघीय सरकार तथा विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुको समन्वयमा रोग नियन्त्रणमा रहेको दाबी गरेका छन् । झाडापखालाका कारण हालसम्म ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीया बालिकाको निजी क्लिनिकमा, ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पताल ल्याउँदै गर्दा मृत्यु मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जिल्लाको शिवराज अस्पतालमा हाल २५ जना झाडापखालाका विरामी उपचाररत रहेका छन् भने ८१९ जना निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुनाहरु लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएका छन् ।

परीक्षणमा ५५ वर्षीय पुरुष, ७२ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष र ५ वर्षीया बालिकाको दिसाको नमुनामा भाइब्रियो कोलेरा ०१ ओगावा भाइरस देखा परेको छ । खानेपानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको मन्त्रालयले जनाएको छ।

झाडापखला लाग्दा शरीरको पानी खेर जाने भएकाले जल विनियोजन भएर मृत्युसम्म हुनसक्ने अवस्था आउने हुँदा जीवनजल अनिवार्य खानु पर्दछ । झाडापखला भएमा १ लिटर पानीमा १ प्याकेट जीवनजल घोलेर पटकपटक खुवाउनु पर्दछ । साथै झाडापखलाबाट बच्न निम्नानुसार तरिका अपनाउनु पर्दछः
१. खाना बनाउन वा खान अगाडि साबुन पानीले मिचिमिची हात धुने,
२. राम्ररी पाकेको खान मात्र खाने तथा बासी वा सडेगलेको खानेकुराहरु नखाने,
३. पानी उमालेर वाक्लोरीन प्रयोग गरेर मात्र पिउने,
४. खुला रुपमा दिसा पिसाब नगर्ने साथै दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुने गर्नु पर्छछ ।

प्रतिक्रिया