हिन्दुमाथिको हमलाविरुद्ध तसलिमाको आक्रोश- ‘हसिना बाँसुरी बजाउन मग्न छिन्’

काठमाडौं । बंगलादेशमा हिन्दु अल्पसंख्यकहरुमाथि दुर्गा पूजादेखि सुरु भएको हमला अझैं रोकिएको छैन ।
दुर्गा पूजाका क्रममा पण्डालमा भएको अतिवादी आक्रमणपछि अस्ति (आइतबार) रंगपुरमा फेरि कैंयन् हिन्दुहरुको घर जलाइयो । बंगलादेशकी निर्वासित लेखिका तथा इस्लामिक कट्टरताको प्रमुख आलोचक तसलिमा नसरिनले ती घटनालाई लिएर सिलसिलेवार ट्विट गर्दै बंगलादेशकी प्रधानमन्त्री सेख हसिनामाथि निशाना साँधेकी छन् ।
तसलिमा नसरिनले आफ्नो ट्विटमा लेखेकी छन्– ‘बंगलादेशमा हजारौं हिन्दु घरबारविहीन बनाइएका छन् किनभने उनीहरुको घरमाथि आक्रमण गरेर भत्काइएको वा जलाइएको छ तर पीएम सेख हसिना आज आफ्नो भाइ सेख रसेलको जन्मदिनमा रमाइरहेकी छन् ।’ नसरिनले अर्को ट्विटमा बंगलादेशको पीरगन्ज, रंगपुर आदि क्षेत्रमा हाहाकार मच्चिएको कुरा पनि उल्लेख गरेकी छन् ।

तसलिमाले लेखेकी छन्- ‘जेहादीहरुले दुईवटा हिन्दु गाउँ जलाएर तहसनहस बनाएका छन् तर हसिना बाँसुरी बजाउन मग्न छिन् ।’ तसलिमा नसरिनले यो विषयमा लगातार कैंयन् ट्विट गर्नुका साथै अल्पसंख्यकहरुमाथिको हमलाविरुद्ध हिन्दुहरुको प्रदर्शनको एक भिडियो सेयरसमेत गरेकी छन् ।
तसलिमाले त्यसअघि एक ट्विटमा लेखेकी थिइन्- ‘बंगलादेशको नयाँ नाम जिहादिस्तान भएको छ । त्यहाँ हिन्दुहरुको पूजा पण्डाल, मन्दिर, घर तथा व्यापार-व्यवसायमा नोक्सान पुर्याउने काम भइरहेको छ । बंगलादेशको सरकार भने हिन्दुहरुविरुद्धको यो उत्पीडनमा मिडियालाई मौन रहन भनिरहेको छ ।
गएको बुधबार बंगलादेशको चाँदीपुरको हाजीगन्ज उपजिल्लामा दुर्गा पूजा समारोहका दौरान भड्किएको साम्प्रदायिक हिंसामा तीनजनाको मृत्यु हुनुका साथै करिब ६० जना घाइते भएका थिए । यस क्रममा चटगाउँको बांसखाली, काक्स बजारको पेकुआ तथा शिवगन्जको चापाईनवाबगन्जसमेत ८० भन्दा बढी स्थानमा हमला गरिएको थियो ।
उग्रवादी मुसलमानहरुको यो आक्रमणपछि फैलिएको अशान्त स्थितिलाई नियन्त्रणमा लिन देशका विभिन्न भागमा सीमा गार्डका जवान, पुलिस तथा आरएबीलाई तैनाथ गर्नुपरेको थियो ।
त्यसपछि रंगपुरको उपजिल्ला पिरगन्जमा हिन्दुहरुको घरमा आगो लगाइएको घटना सार्वजनिक भयो । ढाका ट्रिब्युनको रिपोर्टअनुसार, उक्त घटना पिरगन्जको एउटा गाउँ रामनाथपुर युनियनमा माझीपाराको जेलपोलीमा भएको हो ।
रिपोर्टअनुसार, त्यहाँ कट्टरपन्थीहरुले हिन्दुहरुको २० वटा घर जलाइदिएका छन् । यता स्थानीय संघ परिषद्का अध्यक्षले ६५ वटा घरमा आगो लगाइएको दाबी गरेका छन् ।
तस्बिरहरु : तसलिमा नसरिनको ट्विटरबाट
प्रतिक्रिया