श्रीलंकाको विजयी सुरुवात, नामिबिया ७ विकेटले पराजित

नेपालखोज २०७८ कार्तिक २ गते ८:१७

काठमाडौं । श्रीलंकाले टी-ट्‌वान्टी वर्ल्ड कप क्रिकेट प्रतियोगितामा सानदार सुरुवात गर्दै अफ्रिकी टिम नामिबियालाई ७ विकेट हराएको छ ।

श्रीलंकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । नामिबियाले पहिले ब्याटिङ गर्दा १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । त्यसको जवाफमा श्रीलंकाले १३.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य हासिल गर्‍यो । श्रीलंकाका लागि महिश थिक्षनाले ३ विकेट लिए भने लहिरु कुमारा तथा वैनिन्दु हसरंगाले २-२ विकेट हासिल गरे ।

ब्याटिङतर्फ श्रीलंकाले आफ्ना दुवै ओपनरलाई सस्तैमा गुमाउनुपर्‍यो । दिनेश चन्डिमल पनि केवल ५ रनमा मैदानबाट बाहिरिए । श्रीलंकाका लागि अविष्का फर्नांडोले अविजित ३० तथा भनुका राजापक्षेले अविजित ४२ रन बनाए । श्रीलंका १९९६ को विश्व च्याम्पियन भए पनि आज उसले विश्व कप क्रिकेटको मुख्य खेल तालिकामा प्रवेश गर्न क्वालिफाइड म्याच खेल्नुपरिरहेको छ ।

श्रीलंका दसुन शनाकाको कप्तानीमा मैदानमा ओर्लिएको थियो भने नामिबियाको नेतृत्व गेरहार्ड इरामुसले गरेका थिए ।

प्रतिक्रिया