पानीको वितण्डा : बझाङमा पहिरोले ७ घर पुरिँदा २३ जना बेपत्ता

नेपालखोज २०७८ कार्तिक २ गते १८:२३
साँकेतिक तस्बिर

बझाङ । लगातारका वर्षाका कारण बझाङमा पहिरो गएको छ । बझाङको थलारा गाँउपालिका ४ डिख्लामा सोमवार राति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीयवासी विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् ।

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए। सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन् ।

बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको स्थानीयले बताएका छन् । उनीहरुले पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको बर्षाले बाटो अवरुद्ध भएकाले सो घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।

प्रतिक्रिया