बाढीपहिरोमा परि १८ को मृत्यु, ३३ सम्पर्कविहीन (देशभरकाे विवरण)

काठमाडौं । मनसुन बाहिरिएको साता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी-पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ । विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन् ।
गृह मन्त्रालयको विपत् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डोटीमा सात, धनकुटामा पाँच, सुनसरीको धरानमा दुई, कालीकोटमा एक, डडेलधुरामा एक जना र इलाममा दुईजनाकाे मृत्यु पुष्टि भएको छ ।
नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिलेसम्म सुदूरपश्चिमलाई बेस्सरी प्रभावित बनाएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहान दिएको विवरणअनुसार इलामको फाकफोकथुम गाउँपालिका १, ठेङ्गेपुरमा नगबहादुर शेर्माको घरमा पहिरो खस्दा दुईजनाको मृत्यु भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जिल्लाको चौबीसे गाउँपालिका १, छनम बुधबारेमा गए राति पहिराले भीमबहादुर श्रेष्ठको घर भत्काउँदा ६ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार पहिरोमा परेका १२ मध्ये ६ जनाको उद्धार गरिएको छ ।
महाशाखाका प्रमुख पाण्डेले पहिरोमा परेर हुम्लामा ६ बझाङमा २३ जना सम्पर्कविहीन रहेका जानकारी आएको बताइन् । यस्तै कैलालीमा पनि चारजना बेपत्ता भएका छन् ।
पहिरो खसेर बझाङको थलारा गाउँपालिका ४ मा सात घरका २३ सम्पर्कविहीन भएका हुन् । सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले घटनाको यकिन विवरण अझै आउन सकिरहेको छैन ।
हुम्लाका प्रजिअ गणेश आचार्यका अनुसार जिल्लामा आइतबारदेखि परेको पानी अहिले बिहान मात्रै रोकिएको छ । उनले खार्पुनाथ गाउँपालिका ५, खर्पेल गाउँमा गएराति पहिरो झरेर एउटा घर पुरिएको र त्यहाँ रहेका ६ जना सम्पर्कविहीन भएका जानकारी प्राप्त भएको बताए ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार बाढी, पहिरोका कारण चार सम्पर्कविहीन भएका र उनीहरुको खोजी जारी छ । जिल्लाका ३०० घर प्रभावित भएको उनले जानकारी दिए । अन्य विभिन्न जिल्लामा ठूलो भौतिक क्षति भए पनि यकिन विवरण आइसकेको छैन ।
अहिले उद्धार कार्यमा मुलुककै ध्यान केन्द्रित भएको र बेपत्ताको खोजीका लागि तीनवटै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा समुदाय सक्रिय रहेको महाशाखा प्रमुख पाण्डेले जानकारी दिइन् ।
जिल्लामा फसेका नौको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थलमार्गबाट समेत उद्धार कार्य जारी रहेको र अहिलेसम्म कञ्चनपुरलगायत जिल्लाबाट ७०० लाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्याइएको गृह मन्त्रालयले जनाएको छ ।
प्राप्त विवरणमा बाढी-पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्ये १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवासमेत अवरुद्ध भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनले उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्थापन कार्य पनि सँगसँगै भइरहेको जानकारी दिए ।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रभावित क्षेत्रमा रातिमा समेत खटिएर प्रहरीले उद्धार कर्यालाई तीव्रता दिइरहेको र यो क्रम जारी रहेको जानकारी दिए । अहिलेको वर्षाले किसानको भित्रिन लागेको धानबालीलाई समेत क्षति पुर्याएको छ । -रासस

प्रतिक्रिया