प्राकृतिक विपत् न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्न माग

नेपालखोज २०७८ कार्तिक ३ गते १४:०८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएकामा पार्टीको ध्यानाकर्षण भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन् ‘धानबालीसहित विभिन्न कृषि कार्यमा भएको क्षतिको यथोचित मूल्याङ्कन गरी पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिनका निम्ति हाम्रो पार्टी वर्तमान सरकारसमक्ष जोड्दार माग गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कृषक र जनताको यो पीडामा नेकपा (एकीकृत समाजवादी) साथमा रहेको पनि हामी स्पष्ट पार्दछौँ ।’

यस्तै उनले प्राकृतिक विपत्को व्यवस्थापन तथा न्यूनीकरणका लागि सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न माग गरेका छन् ।

वर्षाकै कारण नेपालीको प्रमुख खाद्यान्न बाली धान भित्र्याउने कार्य प्रभावित भएको छ । काट्न ठिक्क पारिएको र काटेर थन्क्याउने अवस्थाका धानमा क्षति हुँदा नेपाली कृषक समुदाय पीडामा छन् ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले डुबान समस्या र सडक दुर्घटनामा परी घाइते तथा विभिन्न समस्यामा परेकाको उपचार, राहत र उद्धारका निम्ति देशभरका पार्टी कमिटी एवं जनसङ्गठनलाई सम्पूर्ण रुपमा परिचालित हुन निर्देशन दिइसकेका छन् ।

सरकारका विभिन्न तह, निकाय एवं विभिन्न सामाजिक, गैरसरकारी संघसंस्थासँग समन्वय गरी सिङ्गो पार्टी पङ्क्ति त्यसअनुसार क्रियाशील रहेको जनाइएको छ ।

देशका विभिन्न भागमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण ज्यान गुमाउनेप्रति पार्टीले श्रद्धाञ्जलि व्यक्त गरेको छ । –रासस

प्रतिक्रिया