बिहीबार, वैशाख १३, २०८१

ध्यान नदिए पखालाले लिन सक्छ ज्यान !

यस्ता छन् लक्षण, उपचार र बच्ने तरिका

नेपालखोज २०७८ कार्तिक ४ गते १५:३०


काठमाडौं । नेपालमा बालबालिकाको मृत्युको दोस्रो प्रमुख कारण भनेको झाडापखाला हो । तर समयमै ध्यान दिन सकियो भने पखालाबाट हुने अधिकांश मृत्युलाई व्यवस्थापन गरी रोक्न सकिने चिकित्सक बताउँछन् ।

चौबीस घण्टामा तीनपटक वा सोभन्दा बढी पानी जस्तो पातलो दिसा लाग्नु झाडापखालाको मुख्य लक्षण हो । झाडापखाला लाग्दा शरीरमा पानी, नुन, खनिज पदार्थ तथा पोषक तत्त्वहरु खेर जान्छ ।

झाडापखला सूक्ष्म जीवाणुको कारण लाग्ने गर्छ । यो रोग कुपोषित, फोहोर खाना पानी र फोहोर वातावरणमा रहने तथा व्यक्तिगत सरसफाइमा ध्यान नदिने मानिसलाई बढी लाग्छ । यो रोगको जीवाणु पानी, खाना र हातको माध्यमबाट शरीरमा प्रवेश गर्छ र मानिसलाई झाडापखला हुन्छ । झाडापखालाका कीटाणुहरु गर्मी मौसममा बढी सक्रिय हुने भएकाले यो रोग गर्मी मौसममा बढी लाग्ने गर्छ ।

हालै कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाका कारण चारजनाले ज्यान गुमाएका छन् । नगरपालिकामा झाडापखालाबाट बिरामी परेका ८ सय ८५ जनामध्ये ८ सय १९ जना निको भइसकेका छन् । आइतबार मात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै २५ जना बिरामीको उपचार जारी रहेको जनाएको छ ।

यद्यपि, हाल त्यहाँ झाडापखाला नियन्त्रणमा आइसकेको छ । दूषित खाना तथा पानीका कारण लाग्ने रोग झाडापखाला विकासोन्मुख देशहरुमा बालमृत्युको प्रमुख कारक तत्त्वका रुपमा रहँदै आएको छ । नेपालमा पनि झाडापखालाजन्य रोगका कारण बर्सेनि झन्डै १५ हजार बालबालिकाको ज्यान जाने गरेको तथ्यांक छ । विश्वमा हुने कुल बाल मृत्युमध्ये एकचौथाइ झाडापखालाकै कारण हुने गरेको विभिन्न तथ्यांकहरुले देखाइसकेका छन् । 

कस्ता बालबालिकाहरु पखालाको जाखिममा हुन्छन् ?
-स्तनपान नगराई बोतलको दूध खुवाइएका बालबालिका
-कुपोषित
-फोहर खाना र पानी पिउने
-व्यक्तिगत सरसफाईमा ध्यान नदिने
-खोप नलगाएका बालबालिका बढी जोखिममा हुन्छन् ।

झाडापखालाका लक्षण
-पेट दुख्ने
-बान्ता हुने
-असाध्यै तिर्खा लाग्ने
-पातलो दिसा हुने

यीबाहेक खान-पिउन नसक्ने वा झन् बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा, बच्चा ज्यादै तिर्खाएमा, ज्वरो आएमा र धेरैपटक पातलो दिसा गरेमा तुरुन्तै स्वास्थ्य संस्थामा उपचारको लागि जानुपर्छ ।

झाडापखाला लाग्नबाट कसरी बच्ने ?
-चर्पीमा मात्र दिसा-पिसाब गर्ने
-बच्चाको दिसा चर्पीमै विसर्जन गर्ने
-दिसा-पिसाब गरिसकेपछि वा बच्चाको दिसा धोएपछि साबुनबानीले मिचिमिची हात धुने
-पानी उमालेर, फिल्टर गरेर वा पियूष तथा क्लोरिन झोल निर्देशनानुसार मिलाएर मात्रै पिउने
-बासी, काँचो, सडेगलेको, झिँगा भन्केको खानेकुराहरु नखाने
-खानेपानीको मुहान सफा र सधैं सुरक्षित राख्ने

झाडापखालाको घरैमा उपचार गर्ने विधि
-झाडापखाला हुनसाथ एक लिटर सफा पानीमा एक प्याकेट जीवनजल राखी राम्ररी घोल्ने र पटक-पटक खुवाउने ।
-प्रशस्त मात्रामा सफा तथा झोलिलो कुराहरु पटक-पटक खान दिने ।
-नरम तथा सजिलै पच्ने खानेकुरा थोरै-थोरै गरी पटकपटक खुवाइरहने ।
-स्वास्थ्यकर्मीले सिफारिस गरेअनुसार जिंक चक्कीको मात्रा १० दिनसम्म नबिराईकन खुवाउने ।
-बच्चाको व्यक्तिगत सरसफाइ, पिउनेपानी र खानाको स्वच्छतामा ध्यान दिने ।

प्रतिक्रिया