शनिबार, वैशाख १५, २०८१

बेलायतमा एकै दिन ५० हजारलाई कोरोना !

नेपालखोज २०७८ कार्तिक ४ गते १४:४३


लण्डन । बेलायतमा कोेरोनाबाट एकै दिनमा करिब ५० हजार जना संक्रमित भएका छन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टा यता मात्र बेलायतमा थप ४९ हजार १३९ जना कोरोना सङ्क्रमित भएका छन् ।

तीन महिनापछि पछिल्लो २४ घण्टामा यति धेरै संख्यामा संक्रमित भेटिएकाे बताइएको छ । बेलायतका अधिकारीहरुले कोरोना सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् ।

बेलायतमा देखिएको यो संख्या महिनौँपछिको सबैभन्दा धेरै हो । पछिल्ला केहि दिनमा संक्रमण झन् बढेको पाइएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या करिब ८५ लाख ८९ हजार पुगेको पनि जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण १७९ जनाको निधन भएको छ । यो समेतगरी १ लाख ३९ हजारभन्दा धेरै मानिसको यो संक्रमणबाट ज्यान गएको हो ।

काेराेना संक्रमण दर बढेकाे भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गरेका छन्। यसै बीच बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायत सरकारलाई सामाजिक गतिविधिहरुमा पनि प्रतिबन्ध लगाउन सुझाव दिएका छन् । रासस\एएफपी

प्रतिक्रिया