शुक्रबार, वैशाख १४, २०८१

बैंकिङ कसुर मुद्दाका फरार सिंह पक्राउ, ११ लाख जरिवाना

नेपालखोज २०७८ कार्तिक ४ गते १५:३५


काठमाडौं । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले बैंकिङ कसुरका फरार अभियुक्त रामनाथ सिंहलाई पक्राउ गरेको छ । सिआईबीका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार महोत्तरी भगाहा गा.पा. वडा नं. ३ स्थायी वतन भई जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ८ सिपाडोल बस्ने ४५ वर्षिय रामनाथ सिंहलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको हो ।

सिंहले खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी २०७६ वैशाख १० गते प्रभु बैंक लिमिटेड, शाखा कार्यालय भक्तपुरको चेक काटी दिएका थिए ।

उच्च अदालत पाटनबाट २०७७ माघ २० गते सिंहले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरेकाे थियो । सोही आधारमा प्रतिवादी रामनाथ सिंहको हकमा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको प्रवक्ता प्रहरी उपरीक्षक महतोको भनाइ छ ।

सो पश्चात फरार रहेका सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले बुधबार काठमाडौंको कमलपोखरीबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका सिंहलाई फैसला कार्यान्वयनको लागि आज (बिहिबार) काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रवक्ता प्रहरी उपरीक्षक महतोले जानकारी दिएका छन् ।

प्रतिक्रिया