शुक्रबार, वैशाख १४, २०८१

१० मध्ये ३ जना हात धुने सुविधाबाट वञ्चित

नेपालखोज २०७८ कार्तिक ५ गते ७:५४

काठमाडौं । आज सारा संसार कोरोनासँग जुधिरहेको छ । यता युनिसेफद्वारा जारी नयाँ रिपोर्ट ‘स्टेट अफ द वर्ल्डस हेन्ड हाइजिन’ अनुसार संसारमा १० मध्ये ३ जना मानिससँग हात धुने पर्याप्त सुविधा उपलब्ध छैन । अनुमानअनुसार यस्ता मानिसको कुल संख्या करिब २३० करोड छ ।

रिपोर्ट भन्छ- सन् २०२० मा करिब ८१.८ करोड बालबालिकाले विद्यालयमा साबुन-पानीले हात धुने सुविधा पाउन सकेनन् । यति मात्र होइन तीनमध्ये एक स्वास्थ्य सेवा प्रदायक स्थानमा हात धुने पर्याप्त सुविधासमेत छैन । यस्तोमा संक्रमण फैलिने जोखिम बढी हुन्छ ।

स्थिति कति खराब छ भने करिब दुई सय करोड मानिस ती स्वास्थ्य रेखदेख केन्द्रमा निर्भर छन् जहाँ आधारभूत पानीसमेत उपलब्ध छैन ।

संक्रमण फैलिन नदिन राम्रोसँग हात धुनु अत्यन्त जरुरी भएको कुरा निर्विवाद छ । सामान्य लाग्ने यो कामले लाखौं जिन्दगी बचाउन सकिन्छ । त्यसमा पनि कोभिड-१९ को महामारीमा हातको पर्याप्त स्वच्छता सर्वाधिक महत्त्वपूर्ण मानियो ।

युनिसेफको अनुमानअनुसार यदि यो क्षेत्रमा अहिले भइरहेको प्रगतिदर भविष्यमा पनि जारी रहने हो भने सन् २०३० मा करिब १९० करोड मानिसको घरमा हात धुने पर्याप्त सुविधा उपलब्ध हुने छैन । यो हिसाबले २०३० सम्म केवल ७८ प्रतिशत मानिसले नै यो सुविधा पाउनेछन् । हात धुने पर्याप्त सुविधा नपाउनेहरुको संख्या संसारको कुल जनसंख्याको करिब २२ प्रतिशत हुनेछ ।

यो रिपोर्टले संसारमा हातको सर-सफाइ र स्वच्छताको वर्तमान स्थितिको चित्रण गर्छ । त्यति मात्र होइन यसले सरकार, समुदाय, संगठन तथा व्यक्तिगत स्तरमा यो स्थितिमा कसरी परिवर्तन ल्याउन सकिन्छ त्यसमा पनि प्रकाश पार्छ । रिपोर्ट भन्छ, ‘हातको सरसफाइ तथा स्वच्छतामा यदि हरेक वर्ष प्रतिव्यक्ति एक डलर खर्च गर्ने हो भने लाखौं मानिसको ज्यान जोगाउन सकिन्छ । यो एक डलरले हातबाट उत्पन्न हुने रोगमा हुने/गरिने प्रतिव्यक्ति १५ डलर खर्चसमेत जोगिन्छ ।’

प्रतिक्रिया