बिहीबार, वैशाख १३, २०८१

धानको उत्पादन गत वर्षभन्दा १० देखि १५ प्रतिशतले बढ्ने

‘वर्षाले धान क्षति पुग्नुमा सरकार र किसान दुवैको कमजोरी छ । यति हुँदा पनि धान ५/७ प्रतिशत मात्रै बिग्रिएको छ ।’

मीना साउँद २०७८ कार्तिक ५ गते १०:३७


काठमाडौं । यतिबेला धेरै किसानले लगाएको धान पानीमा डुबेर नोक्सान भएको छ । छिटो पाक्ने जातको धान लगाएका किसानहरूले दसैँअघि नै काटेर खेतमा सुकाउन छाडिसकेका थिए । जुन दसैँलगत्तै आएको पानीले डुबाएर सखाप पारिसकेको छ । उक्त काटेर सुकाउन राखेको धान खान लायकसम्म नरहेको कृषि विज्ञहरूले बताएका छन् ।

बोटमै रहेको धानलाई भिजेको भए पनि केही दिनमा फेरि त्यसलाई काटेर सदुपयोग गर्न सकिने भए पनि काटेर खेतमा सुकाउन छाडेको धान खान नमिल्ने कृषिविज्ञ डा. डिल्लीराम शर्माले बताए । यद्यपि, भिजेको धानलाई तुरुन्तै अर्को ठाउँमा सार्न सकेको खण्डमा भने त्यसलाई सदुपयोग गर्न सकिने तर त्यो पनि खान भने त्यति उचित नहुने शर्माको भनाइ छ । ‘धान काटेर जुन जमिनमा बिछाएको हुन्छ त्यो बिग्रियो । त्यो त खानलायक पनि हुँदैन । यदि डुबेको धान छ भने त्यो पनि सडिहाल्छ । अलिअलि भिजेर तुरुन्तै त्यसलाई सारिएको छ भने त काम लाग्न सक्छ,’ शर्माले नेपालखोजसँग भने, ‘तर जुन काटेकै थिएन । खेतमै खडा थियो त्यसलाई त केही पनि फरक पर्दैन । त्यो अब पानी बन्द भएपछि काट्न मिल्छ ।’

खेतमा पाकिसकेको धान, जुन काटिएको छैन । त्यसलाई खेतमा पानी छ भने काटेर सुकाउन भने समस्या हुने उनले बताए । खेतमा पानी छ भने धान काटेर अन्तै पानी नभएको सुक्खा ठाउँमा सुकाउनुपर्ने उनको सुझाव छ । बेमौसमी वर्षाले यतिबेला वर्षभरिका लागि लगाएको किसानको धान नष्ट बनाएको छ । भर्खरै दसैँ मनाएका किसानलाई यतिबेला प्रकृतिले नै रुन बाध्य बनाएको छ । नेपालबाट अक्टोबर ८ तारिखमा मनसुन पूर्ण रूपले बाहिरिइसकेको थियो । मनसुन बाहिरिइसकेपछि यतिबेला वर्षा हुन्छ भन्ने कसैले कल्पनासम्म गरेका थिएनन् । नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिबार रातिदेखि देशका विभिन्न स्थानमा बेमौसमी वर्षा भयो । जसले किसानले लगाएको धान बाली नष्ट गर्नुका साथै थुप्रै जनधनको समेत क्षति गरेको छ । धेरै विकासका पूर्वाधारहरूमा क्षति पुर्‍याएको छ । चार दिनको अवधिमा वर्षाले अर्बौं रुपैयाँको नोक्सानी भएको छ । जुन नेपालजस्तो गरिब मुलुकका लागि धान्नै नसक्ने नोक्सानी हो ।

यतिबेला भने मौसममा सुधार आइसकेको छ । चार दिनसम्म पानीममा चुर्लुम्म डुबेका धान यतिबेला किसान रुँदै सदुपयोग गर्न सकिन्छ कि भन्नेतर्फ लागेका छन् । निकै मिहिनेतले वर्षाभरिका लागि भन्दै लगाइएको बाली कामै नलाग्ने भएपछि यतिबेला किसानलाई के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।

कतिपय ठाउँमा काटिसकेको धान पानीमा भिजेको छ भने कतिपय ठाउँमा त दाना नै नलागेको धानसमेत डुबेको छ । दाना नै नलागेको धान डुबेको अवस्थामा भने त्यसलाई सुरक्षित गर्न नसकिने विज्ञको भनाइ छ ।

५/७ प्रतिशत मात्रै धान बिग्रिएको छ
कृषि विज्ञ डा. डिल्लीराज शर्माका अनुसार अहिलेको पानीले पाँचदेखि सात प्रतिशत धान मात्रै बिग्रिएको छ । छिटै पाक्ने जातको धान लगाएका किसानको केही प्रतिशत धान बिग्रिए पनि अझै धेरै प्रतिशत भने काट्नै बाँकी रहेको उनले बताएका छन् । ‘धान सबै बिग्रिएको छैन । तराईमा धान मंसिरमा काट्छ । काठमाडौंमै पनि अहिले धान काटेको छैन । मलाई लाग्छ पाँच/सात प्रतिशत ठाउँमा त्यस्तो भएको छ । जहाँचाहिँ छिटै पाक्ने जातको धान लगाइएको थियो । दसैँमा तिहारमा धान भित्र्याएर नयाँ चामल खाने, चिउरा बनाउन प्रचलन भएको ठाउँमा मात्रै बिग्रिएको छ त्यो पनि जुन काटेर बिछ्याइएको थियो त्यो मात्रै,’ उनले भने, ‘नोक्सान त भएको छ किसानहरूको । त्यो नोक्सानको किसानहरूका लागि सरकारले के गर्ने हो त्यो सरकारले गर्ने निर्णय भयो । तर, यो सबै धान बिग्रियो यसपालि भोकमरी नै हुन्छ भन्ने सोचाइचाहिँ गलत हो ।’

धान क्षति हुनुमा किसान सरकार दुवैको कमजोरी
कृषि विज्ञ डा. शर्माले अहिले धानको क्षति हुनुमा किसान र सरकार दुवैको कमजोरी भएको बताएका छन् । मौसम पूर्वानुमान महाशाखा र सञ्चार माध्यमहरूले २/४ दिन अगाडिदेखि नै नेपालमा वर्षा हुँदै छ भनेर लगातार भने पनि किसानहरूले त्यसको वास्तै नगरी धान काटेको उनले बताएका छन् । दुई/तीन दिन पानी पर्छ भनेर व्यापक प्रचार भइसकेपछि धान काटिसकेका किसानहरूले अलि चनाखो हुनुपर्ने उनले बताए ।

कतिपय किसानले सूचना सुनेरै समयमै धान उठाउँदा उनीहरूको नोक्सान नभएको उनले बताए । तर सूचनाको वास्तै नगरी बसेका किसानको नोक्सान भएको उनको भनाइ छ । यद्यपि अझै सूचना गाउँगाउँसम्म पुर्‍याउन नसकेकामा सरकारको कमजोरी रहेको उनको भनाइ छ । उनले भने, ‘केही किसानसम्म सूचना पुग्न पनि नसकेको हुन सक्छ । यसका लागि जिल्लास्थित संयन्त्रले काम गर्नुपथ्र्यो । जिल्लास्थित कृषि कार्यालयहरूले पनि आफ्नो लोकल एफएमहरूबाट पनि तपाईंहरूले काटेका धान छन् भने तुरुन्तै उठाउनुस् । अब एक–दुई दिन ठूलो पानी पर्दै छ भनिदिएको भए किसानहरूले अलिकति सतर्क भएर काम गर्थे होला । त्यसैले अहिले नोक्सानी हुनुमा सूचनाको कमी हुनु पनि हो । भने किसानको हेल्चेक्र्याइँ पनि हो ।’ अर्को यतिबेला पानी पर्छ भन्ने कुरा कसैले कल्पनासम्म नगरेकाले पनि धेरै क्षति भएको बताए ।

गत वर्षभन्दा १० देखि १५ प्रतिशत धान उत्पादन बढ्ने
कृषि विज्ञ डा. शर्माले अहिलेको नोक्सानीले नेपालमा उत्पादन हुने धानको जम्मा दुई/चार प्रतिशत मात्रै नोक्सानी हुने बताएका छन् । तराई क्षेत्रमा अझै धेरै धान काट्न बाँकी रहेको र कतिपयको काट्नै बाँकी रहेको उनले बताए । यति धान बिग्रिएर अहिले नै आत्तिनुपर्ने स्थिति नरहेको उनले बताए ।

अहिले छिटो पाक्ने धान लगाएका किसानको बाली क्षति भए पनि समग्रमा यस वर्ष धानबाली राम्रो भएको उनले बताएका छन् । गत वर्षभन्दा यस वर्ष धान उत्पादन १० देखि १५ प्रतिशत नै बढी उत्पादन हुने उनले बताए ।

प्रतिक्रिया