महाकाली नदीको पुल जोड्ने पहुँचमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग

काठमाडौं । महाकाली नदीको निर्माणाधीन पुल जोड्ने पहुँचमार्गअन्तर्गत निर्माण गरिएको कालोपत्र सडक बग्नुको कारणबारे छानबिनको माग गरिएको छ ।
गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी सडक निर्माण गरिएको गुनासो आएको भन्दै राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनले छुट्टाछुट्टैरूपमा विज्ञप्ति जारी गरी छानबिनको माग गरेका हुन् ।
नेकपा (एमाले) भीमदत्त नगर कमिटीका अध्यक्ष रमेश तिरुवा र सचिव भगतसिंह विकले विज्ञप्ति जारी गर्दै पहुँचमार्ग बग्नुको कारणबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
यसैगरी नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका अध्यक्ष कैलाशचन्द्र गिरी, वाइसीएल सचिव तिलक जप्रेल, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका संयोजक रमेश पन्त र युवासङ्घ नेपालका सहसंयोजक मुकेश सिंहद्वारा जारी संयुक्त विज्ञप्तिमा भीमदत्त नगरपालिकाको वडा नं ११, १२, १३ र १४ लाई जोड्ने छ लेनको महाकाली पुलको आयोजना राष्ट्रकै गौरवको योजनाका रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण क्षतविक्षत भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ,’आयोजनामा भएको प्राविधिक कमजोरी गुणस्तरमा कमी तथा अन्य कमीकमजोरी के–कति कारणले भएको भन्ने कुराको सत्यतथ्य छानबिन गर्न समिति गठन गरी दोषीउपर कारबाही गरिनुपर्छ ।’
निर्माणाधीन चार लेनको पुलबाट भुजेलाखोलासम्म ३०० मिटरभन्दा बढी पहुँचमार्ग महाकाली नदीले बगाएको छ । सडक भत्किएपछि ठेकेदार कम्पनीले ठेक्का सम्झौताअनुसार गुणस्तरीय सामग्री प्रयोग नगरेको आरोप लागेको छ ।
स्थानीय बासिन्दाले बालुवाको प्रयोग गरी सडक निर्माण गर्दा भत्किएको आरोप लगाएका छन् । रासस

प्रतिक्रिया