शुक्रबार, वैशाख १४, २०८१

‘नागरिकले अनुभूति गर्ने गरी काम गर्नू’

नेपालखोज २०७८ कार्तिक ५ गते ११:४६

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । बिहीबार प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन, वातावरण तथा भू-संरक्षण मन्त्रालयको अनुगमनका क्रममा उहाँले जनअपेक्षालाई आत्मसात् गर्दै सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने गरी खट्न निर्देशन दिएका हुन् ।

आफ्नो नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा पूर्वाधार विकास तथा जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको बाटो पहिल्याउनका लागि अनुगमनमा पुग्नुभएका मुख्यमन्त्री पोखरेलले प्रथम चौमासिकको हालसम्मको मन्त्रालयगत प्रगतिबारे जानकारी लिनुका साथै उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए ।

गण्डकीमा सुरुमा सातवटा मन्त्रालय र पछि युवा तथा खेलकुद मन्त्रालय थप गरेर आठवटा बनाइएकामा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ मन्त्रालय छन् ।

दसैँ अगाडि बिना विभागीय मन्त्रीमा नियुक्त डोबाटे विश्वकर्माले मुख्यमन्त्री कार्यालयमै पदबहाली गर्नुभएको छ । साढे तीन वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ ।

नयाँ स्थापना भएका मन्त्रालयका लागि भवनको अभावमा साँघुरो गरी सञ्चालनमा आएका छन् । सकेसम्म सरकारी भवन नै खोज्ने नभए भाडामा भए पनि सञ्चालन गरी व्यवस्थापन गरिने मुख्यमन्त्री पोखरेलले बताए ।

त्यस अवसरमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङ र वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापा एवं मन्त्रालयका अधिकारीले भइरहेका काम कारबाही तथा भोग्नुपरेका समस्यालगायतमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया