बिहीबार, चैत १५, २०८०

नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

नेपालखोज २०७८ कार्तिक ५ गते १४:४१

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा उक्त्त कार्यक्रम हुन लागेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुन:स्थापनामा नेपालले प्राप्त गरेको अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको बताएका छन् ।

’पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ (From Reconstruction to Resilience) भन्ने मूल नाराका साथ सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरुसमेत गर्ने कार्यक्रम छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले सम्मेलनमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको राजधानीमा आज गरिएको पत्रकारसम्मेलनमा जानकारी दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुकलाई अनलाइनमार्फत रजिस्ट्रेसन गर्न अनुरोध गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलनलाई लक्षित गरी छुट्टै वेबसाइट बनाइ आजै सार्वजनिक गरिएको छ ।

प्राधिकरणका सह-प्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्मेलन सचिवालयका सदस्य मनोहर घिमिरेले नयाँ बेवसाइटमा सम्मेलनसम्बन्धी भएका महतपूर्ण गतिविधि र जानकारीहरु समावेश गरिएको बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुक महानुभावहरुलाई अनलाइनमार्फत रजिस्ट्रेसन गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया