तीन दिनभित्र सीके राउतलाई पक्राउ नगरे इन्जिनियरहरुको शक्ति देखाउने चेतावनी

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशन वागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
शुक्रवार माईतीघर मण्डलामा भएको बिरोध प्रदर्शनमा नेपाल इन्जिनियर्स एशोसिएशन, वागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सि.डि.ई. राजेश कुशवाहालगायतका कर्मचारीमाथि भएको आपराधिक कुकर्मको विरुद्धमा प्रदर्शन गरेका हुन् ।
प्रर्दशनमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले देशले निजामती कर्मचारीहरुको महत्व बुझ्न नसकेको भन्दै कर्मचारीमाथि चौतर्फी आक्रमण हुनुले देशक र कानुनको धज्जी उडाएको बताए । उनले यो दुष्कर्ममा सामेल हुने सबैलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गरे । उनले जनकपुरमा भएको घटना दानविय भएको बताउँदै आफूलाई पुनः ढुंगे युगमा फर्किएको भान हुन थालेको बताए ।
प्रदर्शनमा नेपाल इन्जिनियर एशोसिएशन वागमती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले कार्यालय प्रमुखमाथि भएको वयवहार हिंस्रक भएको बताए । उनले यो घटनालाई गम्भीरताका साथ लिएर आपराधिक गतिविधिमा संलग्न र नायिकलेलाई कारबाही गर्नुपर्ने बताए ।
उनले कार्यालय प्रमुखमाथि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको टोलीले २९ मिनेटसम्म सामाजिक सञ्जालमा लाइभ गरेर अपमान पूर्वक कर्मचारीहरुलाई शहर परिक्रमा गराउनु अफगानिस्तानमा तालिबानले गराएको जस्तो भएको बताए । उनले यो देशमा राज्य नभएको जस्तो भान हुन थालेको भन्दै सबै अपराधीलाई तीन दिनभित्र पक्राउ गरि कारबाही गर्न माग गरे । उनले सीके राउतलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।
अध्यक्ष बन्जाडेले तीन दिनभित्र अपराधमा संलग्न र नायिकेलाई कारबाही नगरे इन्जिनियरहरुको शक्ति देखाउने चेतावनी दिए । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीवार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका थिए । उनीहरुले जनकपुर ८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुव्र्यवहार गरेका थिए ।

प्रतिक्रिया