सोमबार, जेठ ७, २०८१

वायुसेवा निगमकाे भाडादर कायम, धनगढीबाट डोटीसम्म २ हजार ६१५ रुपैयाँ !

नेपालखोज २०७८ कार्तिक ७ गते १०:२६


काठमाडौं । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो ।

धनगढीबाट डोटी २ हजार ६१५ रुपैयाँ र डोटीबाट धनगढी २ हजार ५१५ रुपैयाँ, धनगढीबाट बझाङ ३ हजार ९९५ रुपेयाँ र बझाङबाट धनगढी ३ हजार ८९५ रुपैयाँ हवाई भाडादर कायम गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।

यात्रुको चाप बढेपछि धनगढीलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आजदेखि परीक्षण उडान हुने उनको भनाइ छ । उनका अनुसार आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा हुँदैछ ।

धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उडानका लागि तालिका सार्वजनिक गरिसकेको जनाएको छ । हवाई भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन् समस्या भइरहेको विमानस्थलले जनाएको छ ।

पहाडी जिल्लमा हवाइ सेवा सञ्चालन हुने भएपछि गत असोज ३१ गते आइतबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दसैँ मनाउन घर आएका काठमाडौं , पोखरा, धनगढी, नेपालगञ्जलगायत बाहिर जिल्लामा अध्ययनरत विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सहज हुने जनाइएको छ । रासस

प्रतिक्रिया