‘सामाजिक विभेद र अत्याचारलाई पुन:स्थापित गर्न चाहनेले माओवादीको विरोध गरे’

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउने तथा उत्पिडन र अत्याचारलाई पुन:स्थापित गर्न चाहनेहरुले माओवादीको विरोध गरेका बताएका छन् ।
पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले काठमाडौंमा आइतबार गरेको ‘ज्योति स्पर्श’ र ‘रातो बारुद’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व अर्थसचिव रामेश्वर खनालप्रति लक्षित गर्दै सामाजिक विभेदलाई रुचाउने तथा सामन्ती उत्पिडन र अत्याचारलाई पुर्नस्थापित गर्न चाहानेहरुले माओवादी पार्टीको विरोध गरिरहेका बताए ।
माओवादीले दलित, जनजाति, आदिवासी समुदाय र महिलाको हक अधिकारको निम्ति लडेको भन्दै उनले दलित समुदाय आफूलाई अत्याचार गर्नेहरुको पछाडि लागेर हिड्दा भने आफुलाई नमिठो लाग्ने तर्क गरे ।
उनले भने, ‘तपाईहरुले देख्नुभयो नि हिजोका सरकारका कतिपय ठुल्ठुला महान विद्धान कर्मचारीतन्त्रका ठुला भन्नेहरु चाहीँ माओवादी नसकिदाँसम्म यो देशले सुख पाउँदैन भनेको सुन्नु भएको छ नि हिजो अस्ति मात्रै । को हुन् ति मान्छेहरु ? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पिडन र अत्याचारलाई फेरी पुर्नस्थापित गर्न चाहाने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरुलाई सिध्याएपछि हुन्छ के ? तर दुर्भाग्य के छ भने जुन वर्ग, समुदायका निम्ति भनेर हामी लडाइँ लड्यौँ, त्यो वर्ग समुदायपनि जानेर वा नजानेर आफुलाई नै अत्याचार गर्नेहरुको पछिपछि लागेर ताली पिट्दै हिडेको देख्दा मलाई कहिलेकाहीँ बडो नमिठो लाग्छ । के भएको होला भन्ने महशुस हुन्छ ।’
पूर्व अर्थसचिव खनालले केही दिन अघि ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त ।’ भनि ट्वीट गरेका थिए ।
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा जातिय विभेद हटाउन अन्र्तजातिय विवाह गर्ने क्रम सुरु भएको भएपनि अझै जातिय विभेद कायम रहेकोमा दुःख व्यक्त गरे ।
उनले रोल्पा, रुकुममा अन्र्तजातिय प्रेम गरेका कारण दलित युवा मारिनु आफ्नो लागि पीडाको विषय भएको उल्लेख गरे । उनले कतिपयले जातिय विभेदको अन्त्य गर्न भनि भएको बिद्रोहलाई बदनाम गर्न र संघीयता उल्ट्याउन चाहेको पनि बताए ।

प्रतिक्रिया