बुधबार, वैशाख २६, २०८१

उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा शिवसताक्षी नगरपालिकाकाे जित

नेपालखोज २०७८ कार्तिक ७ गते २०:१०

काठमाडाैं । देवचुली नगरपालिकामाथि १-० को रोमाञ्चक जित निकाल्दै झापाको शिवसताक्षी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आइतबार भएको प्रतिस्पर्धामा देवचुली नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले दोस्रो जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा शिवसताक्षीको जितमा शर्मिला राईले ३०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यस अघि पहिलो खेलमा शिवसताक्षीले जानकी नगरपालिकालाई ४–० गोल अन्तरले हराएको थियो । सोही लयलाई दोस्रो खेलमा पनि निरन्तरता दिएको हो ।

प्रतियोगिता अन्तर्गत आइतबार कै अर्को खेलमा काठमाडौं महानगरपालिका र रोङ नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यस्तै बर्दियाको बाँसगढी नगरपालिकाले पनि जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

एन्फा कम्प्लेक्समै भएको खेलमा पुतलीबजार नगरपालिकालाई १८–० गोल अन्तरले पराजित गर्दै बाँसगढीले दोस्रो जित निकालेको हो । बाँसगढीको जितमा अमिशा कार्की एक्लैले ९ गोल गरिन । रेनुका हमालले ५ तथा दुर्गा कुमारी चौधरीले २ गोल गरिन । सुस्मिता चौधरी र मनिका घर्ति मगरले एक/एक गोल गरे ।

३१ टोलीले प्रतिस्पर्धा गरिरहेका प्रतियोगितामा आयोजक एन्फाले १० समूहमा विभाजन गरि प्रतिस्पर्धा गराईरहेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

प्रतिक्रिया