घर बनाउँदै हुनुहुन्छ ? यस्तो भन्छ वास्तुशास्त्र !

वास्तुशास्त्रअनुसार घर बनाउँदा हरेक कुरा ध्यानमा राखिन्छ । यदि वास्तुशास्त्रअनुसार घर निर्माण भएको छैन भने उक्त घरमा हुने शक्तिमा नकारात्मक प्रभाव पर्ने शास्त्रविद्हरु बताउँछन् । वास्तुशास्त्रमा प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको विशेष ध्यान राखिन्छ ।
घरको मुख्यद्वार
घरको प्रवेशद्वार जमिनको सतहभन्दा केही माथि उठेको उत्तम मानिन्छ । मुख्य प्रवेशद्वार भने पूर्व तथा दक्षिणमा बनाउनु उपयुक्त मानिन्छ । यो अन्य द्वारभन्दा अग्लो हुनु राम्रो मानिन्छ । ढोका तथा झ्यालमा कुनै पनि आवाज आउनु राम्रो मानिँदैन ।
भान्साकोठा
भान्साकोठा घरको दक्षिण-पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ । तर ठाउँ नभए उत्तर-पश्चिममा पनि निर्माण गर्न सकिन्छ । पूर्वमा फर्केर खाना पकाउनु उचित मानिन्छ । घरको ग्यास र चुलो बाहिरबाट नदेखिने स्थानमा राख्नु लाभदायक मानिन्छ । पानीको धारा र चुलोनजिकै राख्नु हुँदैन । खाना खाँदा भान्साको बीचभागमा बसेर खाँदा शुभ हुन्छ ।
सुत्ने कोठा
शयन कक्ष अर्थात् सुत्ने कोठा वास्तुशास्त्रअनुसार बनेको हुनुपर्छ । यसो नभएमा राति सपना अशुभ देखिने सम्भावना रहन्छ । मुख्य शयन कक्ष दक्षिण भागमा बनाउनु राम्रो हुन्छ ।
पलङ स्थापना सुत्नेको शिर दक्षिण तथा पूर्वतर्फ खुट्टाभन्दा केही उच्च हुने गरी गर्नुपर्छ । शयन कक्ष वर्गाकार हुनु राम्रो मानिन्छ भने कक्ष अनियमित आकारको हुनु हुँदैन ।
पूजा कोठा
हिन्दु धर्मालम्बीले पूजा गर्ने स्थानलाई निकै महत्त्वपूर्ण मान्ने गर्छन् । उचित स्थान तथा दिशामा पूजा नगरेको अवस्थामा पूजाआजाबाट प्राप्त हुने लाभ प्राप्त नहुन सक्छ । त्यसैले यस कुरालाइ पनि विशेष ध्यान दिनु आवश्यक मानिन्छ । पूजाकोठामा सकेसम्म फलाम वा टिनको प्रवेशद्वार राख्नु उचित मानिँदैन । पूजाकोठाको वरिपरि शौचालय हुनु पनि अशुभ मानिन्छ भने शयन कक्षमा पूजा गर्ने स्थान बनाउनु पनि अशुभ मानिन्छ ।
घरको बीच भाग
घरको बीच भागलाई ब्रह्मस्थान भनिन्छ । यो स्थानलााई खाली राख्नुपर्छ । यस स्थानमा फर्निचर या कुनै भारी सामान राखिए स्वास्थ्य र मानसिक शान्तिमा प्रभावित गर्छ । ब्रह्मस्थान भएको छत क्षेत्रमा भारी कुनै वटवृक्षको झाङ–झाडी पनि झुन्ड्याउनु हुँदैन ।
शौचालय
शौचालय निर्माण गर्दा घरका पश्चिमी भागमा निर्माण गर्नु सर्वोत्तम मानिन्छ भने उत्तर-पश्चिममा बनाउनु पनि शुभ मानिन्छ । तर, अन्य स्थानमा भएको शौचालय उचित मानिँदैन ।
रङको छनोट
झ्याल, ढोका र मुख्य रुपमा मेन गेटमा कालो रङ गरिएको छ भने परिवारका सदस्यको व्यवहार अशिष्ट, रिसालु, रुखो वचन बढ्न जान्छ । घरका कुनै सदस्यको जन्म पत्रिकामा वाणी स्थान वा सम्बन्धित ग्रह-नक्षत्र शनि, राहु मंगल र केतु आदिबाट प्रभावित छ भने त्यसप्रति उक्त प्रभाव विशेष रुपबाट दृष्टिगोचर हुन्छ ।
यदि मंगल अथवा केतुको प्रभाव छ भने रातो रङले कुतर्क, धेरै बहस, झगडालु र व्यांयात्मक भाषा प्रयोग गर्ने प्रवृत्तितर्फ इंगित गर्छ । यस्तो अवस्थामा सेतो रङको प्रयोग धेरै लाभदायक हुन्छ ।
प्रतिक्रिया