बुधबार, वैशाख २६, २०८१

सुपरस्टार रजनीकान्तलाई ‘दादा साहेब फाल्के’

नेपालखोज २०७८ कार्तिक ८ गते ८:३०

काठमाडाैं । दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई आज (सोमबार) दिल्लीमा आयोजित हुने एक विशिष्ट समारोहबीच ५१औं ‘दादा साहेब फाल्के’ पुरस्कारबाट सम्मानित गरिँदै छ ।

यो पुरस्कारको घोषणा गत अप्रिल महिनामै गरिएको थियो । सुपरस्टार रजनीकान्तलाई उनले चार दशकदेखि भारतीय सिनेमामा पुर्‍याउँदै आएको योगदानका लागि प्रतिष्ठित दादा साहेब फाल्के अवार्ड प्रदान गर्न लागिएको हो । कोभिड-१९ को महामारीका कारण यो अवार्ड कार्यक्रम केही ढिलो गरी हुन लागेको हो ।

दादा साहेब फाल्के पुरस्कार भारतीय सिनेजगतकाे सर्वोच्च सम्मान हो । यो पुरस्कार भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयअन्तर्गतको फिल्म समारोह निर्देशनालयद्वारा अन्य राष्ट्रिय फिल्म पुरस्कारहरुसँगै वितरण गरिन्छ ।

यस क्रममा हिजो आइतबार २४ अक्टोबरका दिन सुपरस्टार रजनीकान्तले चेन्नईस्थित आफ्नो घरबाहिर मिडियासँग कुराकानी गरेका थिए । उनले पत्रकारहरुलाई आफूले प्रतिष्ठित दादा साहेब फाल्के अवार्ड प्राप्त गर्ने अपेक्षा नगरेको बताए ।

‘मलाई दु:ख पनि छ कि मेरा गुरु केबी सर (के बालाचन्दर) मैले अवार्ड प्राप्त गरेको हेर्न अहिले यो संसारमा हुनुहुन्न,’ मिडियासमक्ष रजनिकान्तले भनेका छन्, ‘म धेरै खुसी छु कि मैले दादा साहेब फाल्के अवार्ड जितें । मैले कहिल्लै यो सम्मानको अपेक्षा गरेको थिइनँ ।’

रजनीकान्तलाई सन् २०१६ मा पद्म विभूषणले सम्मानित गरिएको थियो । रजनीकान्तले तमिल सिनेमा ‘अपूर्व रागंगलुबाट चलचित्रमा डेब्यू गरेका थिए । उनका कैंयन् चलचित्र सुपर/डुपर हिट छन् । बाशा, शिवाजी, एन्थिरन रजनीकान्तका केही सफल चलचित्र हुन् । उनी आफ्ना प्रशंसकहरुबीच थलाइवर (नेता)का रूप सुपरिचित छन् ।

पहिलो दादा साहेब फाल्के पुरस्कार अभिनेत्री देविका रानीलाई प्रदान गरिएको थियो । हालका वर्षमा यो पुरस्कार अमिताभ बच्चन, फिल्म निर्माता के. विश्वनाथ, मनोज कुमार आदिले पाउँदै आएका छन् ।

प्रतिक्रिया