दाङमा एमालेका ५ महिला वडाध्यक्षमा निर्वाचित

दाङ । गत शनिबार सम्पन्न भएको नेकपा (एमाले)को १०औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा दाङमा पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् ।
जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रूपा राना अध्यक्ष चुनिएकी छन् । उनी बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य हुन् ।
त्यस्तै, दङ्गीशरण गाउँपालिका–१ को अध्यक्षमा ३६ वर्षीया दिलकुमारी पुन सर्वसम्मतरूपमा चयन भएकी छन् । घोराही उपमहानगरपालिका–१ को अध्यक्षमा टोपाकुमारी पौडेल सर्वसम्मत निर्वाचित भएकी छन् । उनी वडा सदस्य र उपमहानगरपालिकाको कार्यपालिका सदस्य पनि हुन् ।
त्यस्तै घोराही–४ मा लीला गोतामे अध्यक्ष भएकी छन् । गोतामे निर्वाचित वडा सदस्य हुन् । गढवा गाउँपालिका– ४ मा सीता थापा वडाध्यक्ष भएकी छन् । थापा रेडक्रसकर्मीसमेत हुन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट दाङमा भने एक महिला वडाध्यक्षमा निर्वाचित भएकी थिइन् । शान्तिनगर गाउँपालिका–३ की पार्वती पुन: वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।
एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काले यसपटकको वडास्तरको अधिवेशन ऐतिहासिकरूपमा सम्पन्न भएको बताए । त्यस्तै उनले अधिवेशनमा अधिकतम महिलालाई ३३ प्रतिशत नघट्नेगरी प्रत्येक कमिटीमा समावेश गरेको जिकिरसमेत गरे । रासस

प्रतिक्रिया