७ दिनदेखि अवरुद्ध राजमार्ग संचालन

नेपालखोज २०७८ कार्तिक ८ गते २०:४४

डडेल्धुरा । असोज ३१ गतेदेखि आएको अविरल वर्षाका कारण कात्तिक २ गतेदेखि अवरुद्ध भएको केआई सिंह राजमार्ग सोमबारदेखि सञ्चालनमा आएको छ ।

बेमौसमी वर्षासँगै रडुवा खोलामा आएको बाढी र सडकमाथिबाट खसेको पहिराका कारण डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा झन्डै २५० मिटर सडक पूर्ण रुपमा क्षति भएको थियो ।

लगातार तीन दिनको प्रयासपछि सोमबार दिउँसो सडक जोडिएको डिभिजन सडक कार्यालय कुलपाते डोटीका प्रमुख सुदर्शन कार्कीले जानकारी दिए । ‘सडक अवरुद्ध भएपछि दुवैतिर रोकिएका सवारी साधनहरु, मालवाहक साधनहरु र ट्याङ्करहरु पास भइसकेका छन्’, डिभिजन प्रमुख कार्कीले भने, ‘हामी अझै सडकको सतह मिलाउँदैछौँ ।’

कात्तिक ३ गतेदेखि वर्षा रोकिए पनि सडक काट्दा बस्ती जोखिममा पर्ने भन्दै स्थानीयवासीले विरोध गरेका कारण सडक खुलाउन ढिलाइ भएको थियो । स्थानीयवासीसँगको समन्वय र छलफलपछि सडक खुलाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

एक सातासम्म सडक अवरुद्ध हुँदा जिल्लामा इन्धन, दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको थियो । सडक अवरुद्ध हटेपछि बाढीपीडितहरुको उद्धार र राहतमा पनि सहज हुने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उक्त सडक खण्ड खुलेसँगै डोटी, अछाम र बाजुराबाट आउजाउ गर्ने सवारी साधनहरु सञ्चालनमा आएका छन् । रासस

प्रतिक्रिया