‘नेपाली राजनीतिले गणेशमानबाट सिक्नुपर्ने त्यागको भावना सिकेन’

नेपालखोज २०७८ कार्तिक ९ गते १२:१३

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नो जीवन भर गणेशमान सिंहले नागरिक सर्वोच्चताका लागि व्यक्तिगत स्वार्थलाई गौण राखेको बताएका छन् ।

आज गणेशमान सिंह फाउण्डेसको वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेण्ट–२०२१’ को उद्घाटन गर्दै नेता सिंहले नेपाली राजनीतिले गणेशमान सिंहबाट सिक्नुपर्ने त्यागको भावना नसिकाले अहिले राजनीतिप्रति निराशा छाएको बताए ।

गणेशमानका पुत्र समेत रहेको नेता सिंहले ६ दशक भन्दा बढी राजनीतिक आन्दोलनमा नागरिकलाई सार्वभौम सत्ता सम्पन्न गराउन खेलेको भूमिकाको स्मरण गर्दै खेल मार्फत नयाँ पुस्तामा गणेशमान सिंहको व्यक्तित्व पु¥याउनुपर्ने बताए ।

प्रजातन्त्रको स्थापना भएसँगै राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा यो संघर्ष म आफै प्रधानमन्त्री बन्न होइन भनेर उनले अस्विकार गरेको उनको भनाई छ । राजाले बनाएको प्रधानमन्त्री भन्दा जनताले चुनेको नेताले मुलुकको नेतृत्व गर्छ भन्ने सन्देश दिन गणेशमानले प्रधानमन्त्री पद अस्वीकार गरेको प्रकाशमानले बताए ।

समाज, राष्ट्र र प्रजातन्त्रको जगेर्नामा आदर्शको रुपमा स्थापित भएको र अहिलेको पदको लागि लुछाचुँडी गर्ने प्रवृत्ति बढिरहेको बेला गणेशमान सिंह जस्तो त्यागी पुरुष पनि थिए भन्ने कुरा नयाँ पुस्ता सम्म पुर्याउनु जरुरी रहेको उनले बताए । मंगलबारबाट सुरु भएको यो प्रतियोगिता १६ गते सम्म चल्ने छ ।

प्रतिक्रिया