‘देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छ’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताएका छन् ।
प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने विषयमा बहस केन्द्रित भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशहरु सबैले सामूहिक रुपमा राजीनामा दिन उपयुक्त हुने धारणा राखेका हुन् ।
मंगलबार (आज) पार्टी केन्द्रिय कार्यालय थापाथलीबाट देशभरका पार्टीको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उनले प्रधानन्यायाधीश जबराप्रति लक्षित गर्दै पाँचै जनाले परमादेश जारी गर्ने तर एक जनाले मात्रै किन राजीनामा दिनुपर्ने ? भनि प्रश्न समेत गरे ।
अध्यक्ष ओलीले अदालतलाई मर्यादित, निर्विवाद र जनताको विश्वासको केन्द्र बनाउन पनि पटकपटक आग्रह गरे । उनले सरकार सम्पूर्ण रुपमा असफल भएको दावी समेत गरे ।
अध्यक्ष ओलीले नेतृत्व ठिक नभएकाले संसद असफल हुँदै दाबी गर्दै सभामुख अग्नीप्रसाद सापकोटाप्रति पनि आक्रोश व्यक्त गरे । उनले संसदको नेतृत्व नै ठिक नभएको दावी समेत गरे ।
अध्यक्ष ओलीले निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । लोकतन्त्र र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन एमालेले तीन वटै तहको निर्वाचनमा विजयी हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले सोही अनुसारको तयारीमा जुट्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।
अध्यक्ष ओलीले विरोधीहरुलाई खुसी पार्ने खालका कुनै पनि गतिविधि नगर्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले एकतावद्ध एमाले मुलुकको आवश्यक्ता भएको र सोही आवश्यक्ता पूरा हुने गरी पार्टीका हरेक नेता, कार्यकर्ताहरुले काम गर्नुपर्ने पनि स्पष्ट पारे ।

प्रतिक्रिया