मंसिरभित्र सम्पन्न हुने गरी महाधिवेशनको कार्यतालिका बनाउन देउवाको निर्देशन

नेपालखोज २०७८ कार्तिक ९ गते १८:२७

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरवारस्थित पार्टी संसदिय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्यहरुबीचको छलफलमा बोल्दै सभापति देउवाले निर्वाचन समितिलाई मंसिरभित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको उल्लेख गर्दै सोही अनुसारको कार्यतालिका बनाउन सचेत गराए ।

पार्टी सभापतिले मंसिरभित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘पार्टी सभापतिले स्पष्ट रुपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ । तपाईँहरुले यो प्रक्रियालाई चाँडोभन्दा चाँडा अगाडि बढाउनुहोस् । र मंसिरभित्र महाधिवेशन गरि सक्नुपर्छ । त्यसकारण यो तलदेखि केन्द्रिय महाधिवेशन जुन छ, यो मंसिरभित्र हुनुपर्छ । र त्यही अनुरुप तपाएईहरुले कार्यतालिका लागि होमवर्क गर्नुस् भनेर सभापतिले स्पष्ट निर्देशन दिनु भएको छ ।’

यता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने महाधिवेशन मंसीर भित्र सम्पन्न हुने गरी औपचारिक निर्णय गराउन तत्काल पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाउन सभापति देउवासँग माग गरेको छ । महाधिवेशनको कार्यतालिकामा हुने सानोतिनो हेरफेर र महाधिवेशनको अन्य तयारीको लागि पनि तत्काल केन्द्रिय कार्य समितिको बैठक बोलाउन आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए ।

नेपाली काँग्रेसले १४औं महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो । तर तल्लो तहको अधिवेशन गर्ने काममा ढिलाई भएपछि सभापति देउवाले मंसिरभित्र गरिसक्ने गरी निर्वाचन कार्यतालिका तय गर्न पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया